प्रहरीमा एआईजीको दरबन्दी थप्न सैद्धान्तिक सहमति, भावी आईजीपीका प्रतिष्पर्धी थपिने

काठमाडौं । सरकारले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीको दरबन्दी थप्ने तयारी गरेको छ । निवर्तमान गृहमन्त्री खगराज अधिकारीले एआईजीको एउटा दरबन्दी थप्ने सैद्धान्तिक सहमति भएको बताउनुभयो ।

उहाँका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा एआईजीको दरबन्दी थप्ने विषयमा छलफल भएको थियो । यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमत छन् ।

‘सैद्धान्तिक सहमति भइसकेको छ, निर्णय चाहिँ भइसकेको छैन,’ सर्वोच्च अदालतले मंगलबार दिएको आदेशपछि पदमुक्त भएका अधिकारीले भन्नुभयो, ‘डीआईजीको दरबन्दी थप्ने विषयमा चाहिँ कुरा भएको छैन ।’ सरकारले एआईजीको एउटा दरबन्दी थपे भावी प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने दौडमा एक प्रतिष्पर्धी थपिनेछन् ।

नेपाल प्रहरीमा एआईजीको तीन वटा दरबन्दी थियो । तर तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा एउटा दरबन्दी थप गर्दै गत वर्ष २७ कात्तिकमा विश्वराज पोखरेललाई उहाँको ब्याचबाट एक्लै एआईजीमा बढुवा गरिएको थियो ।

वरियताक्रम मिचेर आईजीपी बन्न प्रतिष्पर्धा अन्त्य गर्ने गरी बढुवा गरिएको भन्दै संसदको राज्य व्यवस्था समितिले निर्णय सच्याउन सरकारलाई निर्देशन पनि दिएको थियो । तर त्यसलाई बेवास्ता गर्दै पोखरेललाई एआईजी बनाइएको थियो ।

हाल सरकारले पुनः एआईजीको एउटा दरबन्दी थप्दै विगतको गल्तीलाई सच्याउन खोजेको गृह मन्त्रालयका एक अधिकारीले बताए । दरबन्दी थपिएको अवस्थामा पोखरेलको ब्याचका डीआईजी सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, बसन्त लामालगायत मध्ये एकजना एआईजीमा बढुवा हुनेछन् ।

वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् । उहाँको अवकाशसँगै एआईजी हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीले पनि अवकाश पाउने छन् । त्यसपछि बाँकी रहने एआईजी विश्वराज पोखरेल आईजीपीका एकल दाबेदार हुने थिए ।

तर एआईजीको एउटा दरबन्दी थप भएको अवस्थामा त्यसमा बढुवा हुने एआईजी र पोखरेलमध्ये एक जनाबाट सरकारले भावी महानिरीक्षक छान्नेछ । प्रहरी नियमावलीमा एआईजीमध्येबाट एक जनालाई सरकारले आईजीपीमा बढुवा गर्न सक्ने व्यवस्था छ । अनलाइनखबरबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?