काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ ।
शुक्रबार निर्वाचन आयोगले सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।
पद रिक्त भएकाहरुमा रौतहटका ७,कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना जनप्रतिनिधि छन् ।
७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।
त्यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकबाट कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।
त्यसपछि ७ असारमा भर्चुअल विधिबाट केन्द्रीय समितिको बैठक बसेर माओवादीले उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको निर्णयलाई औपचारिकता दिएको थियो ।
पद गुमाएका जनप्रतिनिधिहरु :
१. मौलापुर नगरपालिका रौतहटका प्रमुख रिना कुमारी साह
२. कटहरिया नगरपालिका रौतहटका प्रमुख सियाराम कुशवाहा
३. देवानी गोनारी नगरापलिकाका उपप्रमुख परनिया देवी
४. मौलापुर नगरपालिका रौतहटका उप्रमुख गौरीशंकर प्रसाद
५. फतुवाविजयपुर नगरपालिका रौतहटका उप्रमुख कान्ति देवी
६. माधवनारायण नगरपालिका रौतहटका उपप्रमुख सिमल कुमारी साह
७. यमुनामाई गाउँपालिका रौतहटका उपाध्यक्ष गितादेवी साह
८. लहान नगरपालिका सिरहाका नगर कार्यपालिका सदस्य सतमीलाल दास ताती
९. सम्सी गाउँपालिका महोत्तरीका अध्यक्ष शेष फारुक
१०. भजनी नगरपालिका कैलालीका उपप्रमुख छायाँ देवी देवकोटा
११. गौरीगंगा नगरपालिका ४ कैलालीका वडाध्यक्ष भागिरथी विष्ट
१२. गोदावरी नगरपालिका १ का वडाध्यक्ष शर्मानन्द भट्ट
१३. बर्दगोरिया नगरपालिका ४ का वडाध्यक्ष पुरन विसी
१४. चम्पादेवी गाउँपालिका ७ का वडाध्यक्ष सुरेश कुमार थापा
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया