कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यताबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाउन नसकेपछि त्यसको जिम्मा पदाधिकारीलाई नै दिने तयारी भएको छ । त्यसबारे छलफल गर्न छानविन समितिका सदस्यहरुसहित आज पदाधिकारी बैठक बस्दै छ ।

बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको जानकारी दिनुभयो ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ । महाधिवेशनका लागि दुई महिना बाँकी भए पनि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन।

पदाधिकारीलाई जिम्मा दिने तयारी

रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले उजुरीमाथि छानविन गरिरहेको छ । आजको पदाधिकारी बैठक क्रियाशील सदस्यता छिटो टुंग्याउनेबारे केन्द्रित हुने छ ।

समितिलाई सदस्यता टुङ्ग्याउन असार २० गतेसम्मको समय दिइएको छ । तर समितिले मापदण्ड बनाउन नसक्दा नयाँ सदस्यको हकमा आएका उजुरीमाथि काम गर्न सकेको छैन ।

समितिले अति विवादित जिल्लाको हकमा पदाधिकारीलाई नै निर्णय गर्ने जिम्मा दिने तयारी गरेको छ । क्रियाशील सदस्यता छानबिन समितिका एक सदस्य योगेन्द्र चौधरीले भन्नुभयो, ‘पुरानाको हकमा विवाद नभए पनि अन्य पार्टीबाट आएकाहरुको हकमा मापदण्ड कसरी निर्धारण गर्ने भन्ने समस्या छ ।’

कांग्रेसमा पुराना ४ लाख ७० हजार क्रियाशील सदस्य छन् । १४ औं महाधिवेशनमा शतप्रतिशत सदस्यता बढाउने निर्णयपछि कांग्रेसमा क्रियाशील सदस्यता झण्डै दश लाख पुग्ने अनुमान गरिएको छ ।

तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न कांग्रेसमा प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यता विवाद टुंग्याउन जरुरी छ । समितिले गौशालास्थित धर्मशालामा बसेर सदस्यता टुङ्ग्याउने काम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?