दार्चुला सहित सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सकियाे

डोटी । यो वर्ष समयमै मनसुन सुरु भएका कारण सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ४५ दशमलव ९५ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार असार १२ गतेसम्म प्रदेशका नौ जिल्ला– कैलालीमा ५५, कञ्चनपुरमा ३५, अछाममा ४५ बाजुरामा ५५, बझाङमा ४५, बैतडीमा ४५, दार्चुलामा ६२, डडेल्धुरामा ६० र डोटीमा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

प्रदेशका कुल एक लाख ८५ हजार आठ सय ४७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ । अहिलेसम्म ८५ हजार तीन सय ६८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको हो ।

यो वर्ष असार १५ अघि नै प्रदेशभरिमा ४५ दशमलव ९५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, यो वर्ष समयमै मनसुन सुरु भएको छ, पर्याप्त पानी भएका कारण किसानले समयमै धान रोपाइँ गरेका छन्, यो वर्ष राम्रो धान उत्पादन हुने लक्ष्य लिइएको छ ।

विगतका वर्षमा भन्दा यो वर्ष मनसुन समयमा सुरु भएका कारण यहाँका उच्च पहाडी र पहाडी क्षेत्रमा धान रोपाइँ छिटै भएको निर्देशनालयले जनाएको छ । गएको असार १० गतेसम्म भएको रोपाइँको तुलनामा सुदूरपश्चिम प्रदेशमा यो वर्ष आठ दशमलव ४१ प्रतिशतले बढी भएको बताइएको छ ।

नेपालमा दुई जिल्लामा बाहेक सबै जिल्लामा धान उत्पादन हुने गरेको छ । नेपालमा कुल एक सय ३० जातका धान उत्पादन हुँदै आएको निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा नौ वटै जिल्लाका किसानले मार्सी, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पाल्पाली धान लगाउँदै आएका छन् । यहाँको प्रसिद्ध धान जोरायले बासमती भने डोटीको जोरायल क्षेत्रमा मात्रै लगाइने गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?