दार्चुला। दार्चुलामा जारी निषेधाज्ञा असार मसान्त सम्म लम्ब्याइएको छ । शुक्रबार (आज) बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले सिफारिश गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले आगामी असार मसान्त सम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
यसअघिको जारी निषेधाज्ञा यहि असार २० गते सकिदैछ । जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेकोले असार २१ गतेदेखि लागू हुनेगरि छैटौँ पटक निषेधाज्ञा थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो।
कोभिड–१९ को सङ्क्रमण घटे पनि अझै नियन्त्रण भइनसकेकाले जारी निषेधाज्ञा केही खुकुलो गरी थप्ने निर्णय गरिएको जोशीले बताउनुभयो ।
थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, फैन्सी÷कपडा, निर्माण सामग्रीका पसलमा काम गर्ने व्यक्तिको अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विहान ६ बजे देखि दिउसो १ बजे सम्म खोल्न पाइने भएको छ । हाल जारी निषेधाज्ञामा बिहान ६ बजेदेखि दिउसो १२बजेसम्म मात्रै खाद्यान्न र फलफूलका पसल मात्रै खोल्न दिइएको थियो ।
यस्तै शुक्रबारको बैठकले हाल जिल्लाभित्रको सवारी साधन संञ्चालनमा रहेको जोर विजोर प्रणाली हटाई जनस्वास्थ्य सुरक्षाका मापदण्डहरुको पुर्ण पालना गर्ने गरी सिट क्षमता अनुसारका यात्रु राखि संञ्चालन गर्न पाउने पनि निर्णय गरिएको छ ।
यस्तै अत्याआवश्यक कामका लागि जिल्लाबाहिर जाने सवारी साधनको हकमा भने जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट सवारीपास अनुमति लिएर मात्रै संञ्चालन गर्न पाउने निर्णय गरिएको छ ।
यस्तै बैठकले जिल्ला भित्रका अस्पताल तथा स्वास्थ्य चौकीहरुमा उपचार गर्न आउने विरामीहरुको कोरोना संग मेलखाने लक्षण देखिएमा एन्टिजेन परीक्षण गर्ने जस्ता निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया