दार्चुला । सोमबार रातीको वर्षाका कारण शैल्यशिखरको ग्वानीस्थित खोलामा बाढी र पहिरो जादा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।
शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीमा खोला बढ्नुका साथै पहिरो गएपछि सडक अवरुद्ध बनेको रेडियो लोकदर्पण समाचारदाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।
सडक अवरुद्ध बनेसंगै गोकुलेश्वरबाट खलंगाका लागि छुटेका जीपहरु र तराइबाट दार्चुलाका लागि आएका बसहरु रोकिएका छन् । गोकुलेश्वरबाट दार्चुलातर्फ जादै गरेका तीन वटा बस र छ वटा जीप सडकमै रोकिएको धामीले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा झण्डै ५ सय यात्रु बाटोमै रोकिएका छन् । रातीदेखि नै सडक अवरुद्ध बनेको भएपनि अहिलेसम्म सडक खुलाउन कुनै प्रयास नभएको यात्रुहरुको गुनासो छ । विहानैदेखि सडक नखुलेपछि गन्तव्यमा पुग्नुपर्ने यात्रु बाटोमै रोकिएका छन् ।
शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्रबहादुर बिष्टका अनुसार अवरुद्ध सडक सुचारु गर्नका लागि मंगलबार बिहान ९ बजेतिर स्काभेटर मेसिन (जेसिभि) गएको छ । जेसिभिले सडक नखुलाउदासम्म यातायातका साधनहरु सञ्चालन गर्न सकिने अवस्था नरहेको घटनास्थलबाट यात्रुहरुले रेडियो लोकदर्पणलाई जानकारी दिएका छन् ।
बर्षातको समयमा महाकाली लोकमार्ग वर्षेनी ठाउँठाउँमा अवरुद्ध हुँदै आएको छ ।




विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया