दार्चुलाका सबै स्थानीय तह बाढी र पहिरोको उच्च जोखिममा, नौगाडमा क्षती

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा बाढीले दुई वटा घर बगाएको छ । नौगाड गाउँपालिका–३ जामिरका स्थानीय नन्दु ठगुन्ना र गोठे टमटाको घर खार खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । खोला किनाराका अरु घरहरु पनि पहिरोको जोखिममा रहेको रेडियो लोकदर्पण समाचारदाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।

पहिरोमै परेर एक जना पुरुष बेपत्ता हुनुभएको छ । बेपत्ता हुनेमा अन्दाजि ३० वर्षीय लक्ष्मण सितोली रहेको धामीले बताउनुभयो । बुधबार रातीको अबिरल बर्षाका कारण घरहरुका साथै स्थानीय लघुजलविद्युत र झोलुगें पुलमा समेत क्षती पुगेको छ ।

खार खोलाका साथै विभिन्न खहरे खोलाबाट बाढी, पहिरो आउदा ठूलो क्षती गरेको स्थानीयहरुले बताएका छन् । खारको गुन्ढाडु खोला, पारिखार, सितोलिबगड, ओखलधार र गुन्ढारु खोलाले जामिरको लधुजलबिधुत, पुल लगायत संरचनामा क्षती पुर्याएको धामीले बताउनुभयो ।

घटनास्थलमा अहिले स्थानीयका साथै दल्लेख प्रहरी चौकीबाट प्रहरी टोली खटिएर उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बर्षाका कारण आएको बाढी, पहिरोका कारण नौगाड गाउँपालिका–६ स्थित धुलिगडा गाउँमा अवस्थित एगरभगे र चोताडको खोलाले खानेपानी योजना र एउटा पानी घट्ट बगाउनुका साथै नजिकका घरहरु जोखिममा परेका छन् ।

नौगाड क्षेत्रमा टेलिफोनले काम नगरेको कारण क्षतीको विस्तृत विवरण प्राप्त हुन सकेको छैन् । नौगाडमा बाढी र पहिरोका कारण बर्षेनी धनजनको क्षती हुँदै आएको छ ।

दार्चुलाका सबै स्थानीय तहका विभिन्न क्षेत्र बाढि पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले यसअघि तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार पनि दार्चुलाका नौँ वटै स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको देखाएको छ ।

विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाको अपिहिमाल गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ६ नम्बरका विभिन्न बस्तीहरु पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । व्याँस गाउँपालिकाको वडा नम्बर ३, ४ र ६ नम्बरका विभिन्न बस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन् । महाकाली नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ नम्बर क्षेत्रका बस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।

मालिकार्जुन गाउँपलिकाका वडा नम्बर १, २, ३, ४, ५, ६ र ८ का बस्तीहरु बाढी, पहिरोको जोखिममा रहेको पाइएको छ । नौगाड गाउँपालिकाका १ देखि ६ नम्बर वडा सम्मका सम्पूर्ण बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । मार्मा गाउँपालिकाको वडा नम्बर ४ क्षेत्रका १० परिवार पहिरोको उच्च जोखिम रहेको पाइएको छ ।

लेकम गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ६ का १९ घरपरिवार जोखिममा रहेको विपद व्यवस्थापन समितिले जनाएको छ । दुहुँ गाउँपालिकाका वडा नम्बर १ र ३ नम्बरका बस्तीहरु जेखिममा रहेका छन । शैल्यशिखर नगरपालिकाको ओसिल क्षेत्र बाढि पहिरोको जोखिममा रहेको जिल्लाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ ।

गत वर्षहरूमा बाढी पहिरोले पुर्याएको क्षती र अझै सम्भावना रहेको आधारमा उच्च जोखिममा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा बाढि पहिरोका कारण प्रत्येक बर्ष धनजनको ठूलो क्षति हुने गरेको छ । हरेक बर्ष पहिरो नियन्त्रण भनेर विभिन्न योजना तथा बजेट आउने गरेको भएपनि बाढि पहिरो नियन्त्रण हुन नसकेको जनगुनासो छ ।

दार्चुला बाढी, पहिरो, चट्याङ, भुकम्प लगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपहरूको जोखिममा रहेकोले सतर्कता अपनाउनु आवश्यक रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?