दार्चुला । नौगाड गाउँपालिकामा बुधबार र विहिबारको अबिरल वर्षाका कारण आएको बाढी, पहिरोले निम्त्याएको धनजनको क्षती बारे जिल्लास्थित अधिकारीहरुले स्थलगत अवलोकन गरेका छन् ।
क्षतीबारे अद्ययन अवलोकनका लागि जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करवीर बहादुर कार्की, प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशी, शसस्त्र प्रहरी बल नम्बर ४४ गण खलंगाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र बहादुर बम, नेपाली सेनाका गुल्मपति सेनानी ओम बिक्रम वस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट, रेडक्रस दार्चुलाका प्रमुख तथा प्रतिनिधि, नौगाड गाउँपालिकाका जनप्रतिनिध, कर्मचारी लगायतको टोली नौगाड गाउँपालिकाको घटनास्थल पुगेको हो ।
नौगाड गाउँपालिकामा असार २३ गते राती देखि २४ गते सम्म वाढी र पहिरोले तीन जनाको ज्यान जानुका साथै व्याक्तिगत र सरकारी गरी करोडौँको सम्पत्तीको क्षती भएको छ । दार्चुला सदरमुकाम खलंगाबाट गएको टोलीले नौगाड गाउँपालिका वडा नम्बर ३ को खारमा ज्यान गुमाउने परिवारलाई सान्वना दिनुका साथै क्षतीको अवस्था बारे जानकारी लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । अनुगमन टोलीले नौगाड गाउँपालिका–३ को जामीरमा पुर्ण क्षति भएकोे खारखोला ३२ किलोवाट क्षमताको लघु जलविद्युत गृह, खारखोलामा रहेको झोलुङ्गे पूल, वाढी पछि पानी थुनिएर बनेको ड्याम, क्षतीग्रस्त खानेपानी योजना लगायत संरचनाहरुको समेत स्थलगत अवलोकन गरिएको नौगाड गाउँपालिकाका कर्मचारी कृष्णसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
सुरक्षा अधिकारीहरुका अनुसार क्षतिको जानकारी लिन र भावि योजना तथा तयारीका लागि बाढी र पहिरोले क्षती पुर्याएको स्थानमा स्थलगत अवलोकन गरिएको हो । अवलोकन भ्रमण पश्चात सुरक्षा अधिकारी र जनप्रतिनिधिहरुले राहात र क्षतीपुर्तीका लागि आफुले सक्ने जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेको स्थानीयहरुले बताएका छन् । क्षतिको पुनर्निर्माणका लागि स्थानीय सरकारले मात्रै गर्न सक्ने अवस्था नरहेकोले प्रदेश तथा संघ सरकारबाट समेत सहयोगको अपेक्षा गरिएको नौगाड गाउँपालिकाले जनाएको छ ।
नौगाडमा बाढी, पहिरोले पुर्याएको क्षतीको प्रतिवेदन बनाएर राहात र पुनस्थापनाका लागि पहल गरिने बताइएको छ । प्रभावित केहि परिवारलाई सामान्य राहात समेत वितरण गरिएको रेडक्रस दार्चुलाले जनाएको छ । मृतकका परिवारलाई राहात दिनुका साथै क्षतीग्रस्त संरचनाहरुको पुननिर्माण र क्षतीपुर्तीका लागि सरोकारवालाहरु जिम्मेवार बन्नुपर्ने स्थानीय प्रकाशसिंह धामीले बताउनुभयो ।
दार्चुलाका सबै स्थानीय तहका दर्जनौँ बस्तीहरु बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । नौगाड गाउँपालिकामा बाढी, पहिरोका कारण बर्षेनी ठूलो जनधनको क्षती हुँदै आएको छ । नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत विपद्बाट ज्यान गुमाएका परिवारलाई प्रतिव्याक्ति दुई लाख रकम राहातस्वरुप प्रदान गर्दै आएको छ ।





विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया