दार्चुला । असार २३ र २४ गतेको बाढीका कारण दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ मा खारखोला थुनिएको छ । स्थानीयका अनुसार खोलामा आएको बाढीले खारखोला र नौगाड नदीको दोभानमा ड्याम बनेको हो ।
बिहीबार बिहान खोलामा आएका बाढीले ड्याम बनेर बस्ती जोखिममा परेपछि ड्याम खुलाउने प्रयास थालिएको छ । खोला र नदीको दोभानमा बनेको ड्याम आइतबार (आज) खुलाइने नौगाड गाउँपालिकाका स्थानीय सन्तोषसिंह ठगुन्नाले जानकारी दिनुभयो । स्थानीयहरुले ड्याम खोल्नका लागि प्रयास गरेपनि सम्भव नभएकोले प्राविधिक र सुरक्षा निकायको समन्वयमा भोलि ड्याम खुलाइने भएको हो ।
२७ गते बिहान नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ड्याम खोल्ने भएकाले ड्याम आसपासका क्षेत्र तथा ड्याम बनेको क्षेत्र भन्दा तलका बस्तिहरुमा बसोबास गर्ने स्थानीयहरुलाई सजग तथा सचेत रहन तथा ड्याम नखुलुन्जेल सम्म आसपासका क्षेत्रमा बसोबास गर्ने घरपरिवार हरुलाई सजगता अपनाई सुरक्षित रहन नौगाड गाउँपालिकाले आह्वान गरेको नौगाडबाट रेडियो लोकदर्पण समाचारदाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।
बाढी तथा पहिरोका कारण जनधनको क्षति बेहोर्नु परेका घरपरिवारसँग भेटघाट, राहत वितरण तथा सान्तवना दिन र उक्त ड्यामको बारेमा बुझ्नका लागि शुक्रबार दार्चुला सदरमुकामबाट सुरक्षा अधिकारी र जनप्रतिनिधिहरुको टोली घटनास्थल पुगेको थियो । ड्याम खोल्न स्काभेटर मेसिन प्रयोग गर्न खोजिएको र ड्याम रहेको स्थानसम्म मेसिन पुर्याउन बाटो नरहेको हुँदा ड्याम खोल्न केही ढिलाई भएको गाउँपालिकाले जनाएको छ ।
नौगाडमा बनेको ड्यामले एक्कासी फुटेमा नजिकका र तलतिरका बस्तीमा जोखिम हुने भन्दै स्थानीय त्रसित बनेका छन् ।
खोलामा बाँध बाँधिएर पानीको निकास भएपछि स्थानीयहरुले बाँध खोलिदिन अनुरोध गरेका छन् ।
यहि असार २३ र २४ गते बाढी र पहिरोका कारण बिहीबार मात्रै दार्चुलाको नौगाड गाउँपालिकामा तीन जनाको ज्यान गएको थियो ।




तस्बिर सौजन्य : सन्तोषसिंह ठगुन्ना
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया