दार्चुला । दार्चुला सदरमुकाम खलंगा सहित जिल्लाको अधिकासं ठाउँमा विद्युत अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् ।
लोडसेडिङको तालिका बिना गर्मीको समयमा दैनिक विद्युत अवरुद्ध तथा अनियमित भएपछि समस्या भएको सेवाग्राहीको गुनासो छ । विद्युतिय सामाग्रीको व्यापार तथा प्रयोग गर्दै आएका सेवाग्राहीहरुले अनियमित विद्युतका कारण हैरानी खेप्नुपरेको गुनासो गरेका छन् । पटकपटक आउने जाने विद्युतका कारण विद्युतिय सामाग्री बिग्रिने गरेको स्थानीय पदम धामीले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका अनुसार शनिबार बलाँचमा लाइन फल्ट देखिएपछि विद्युत अवरुद्ध भएको छ । मर्मतको काम भइरहेकोले शनिबार राती वा आइतबार विहानसम्म विद्युत सुचारु हुने प्राविधिकहरुले बताएका छन् ।
विद्युत कार्यालयको लापरवाही, प्रतिकुल मौसम र सिमित स्रोत, साधन तथा जनशक्ति अभावका कारण बेलाबेला विद्युत सेवा अबरुद्ध हुने गरेको छ ।
२०६८ सालको जनगणना अनुसार दार्चुलामा २४ हजार ६१८ घरधुरीमध्ये अहिलेसम्म ९ हजार ३२० घरधुरी अर्थात झण्डै ३५ प्रतिषत परिवारमा मात्रै विद्युतको पहुँच पुगेको छ । अधिकासं घरधुरी अझै विद्युतको पहुँच बाहिर रहेको र विद्युत पुगेको ठाउँमा समेत अनियमित हुँदा नागरिकहरु विभिन्न समस्या खेप्दै आएका छन् ।
समयमै ग्रामिण विद्युतिकरण नहुँदा ३० मेगावाटको चमेलिया लगायत साना ठूला दर्जनौँ जलविद्युत आयोजना उत्पादन भएको दार्चुला जिल्लाका नागरिकहरु अहिलेसम्म पनि अन्धकारमै बस्न बाध्य रहेका छन् । विद्युत अभाव र अनियमित हुँदा सेवाग्राहीले बत्ति बाल्ने देखि, मोबाइल चार्ज गर्ने, खाना पकाउने, व्यवसाय सञ्चालन गर्ने लगायत विद्युतिय सेवाहरुबाट बञ्चित हुनुपरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया