दार्चुला । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गर्नुभएको छ ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । लगत्तै विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको थियो ।
बैठकमा एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको भन्दै गठबन्धनमा नबस्ने बताउनुभएको छ । पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘पार्टी एकताका लागि एक खालको सहमति भएको छ । अब त्यसलाई उहाँहरुलाई कुन ढंगले लागू गर्न हुन्छ भन्ने हेर्नुपर्छ ।’
उहाँको आशय पार्टी एकता भएको अवस्थामा गठबन्धनमा नरहने भएको एक नेताले बताउनुभयो ।
नेपाल समूहका नेता घनश्याम भुसालले पनि अब गठबन्धनमा आफूहरु नरहने प्रष्ट पार्नुभएको छ । प्रतिनिधिसभा बचाउनुपर्छ भनेर आफूहरु विपक्षी गठबन्धनमा गएको भन्दै उहाँले भन्नुभयो, ‘पार्टी एकता र संसद पुनर्स्थापनापछि गठबन्धन असान्दर्भिक भइसक्यो । अब हामी विपक्षी गठबन्धनमा रहँदैनौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न खोजेको भन्दै एमालेको नेपाल समूह विपक्षी गठबन्धनमा गएको थियो । एमालेको २६ सहित १४९ को हस्ताक्षर पेश गर्दै देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्नुभएको थियो । त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेपछि देउवा सर्वोच्च गए, जहाँ उहाँले माधव नेपाल समूहका २३ सांसदको साथ पाउनुभएको थियो ।
तर सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकै दिन माधव नेपाल समूह अलग भएको छ । यससँगै विपक्षी गठबन्धन संसदमा अल्पमतमा देखिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया