फैसला जनभावनानुसारः सभामुख सभामुख
अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँका अनुसार ‘फैसला ऐतिहासिक छ । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै फैसला आएको छ । जनभावनाको कदर भएको छ ।’
ऐतिहासिक फैसलाः कांग्रेस
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै स्वागत गरेको छ । प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्चको निर्णयपछि सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसलालाई स्वागतयोग्य कदम भन्नुभएको छ ।
फैसला त्रुटिपूर्ण तर स्वीकार गर्नेः एमाले
नेपाल कम्युनिस्ट पार्टी (एमाले) सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण भए पनि कार्यान्वयन गर्ने निष्कर्षमा पुगेको छ । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनासँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन फैसला गरेपछि बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले यस्तो निष्कर्ष निकालेको हो । सर्बोच्चको फैसलाले दलिय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउने एमालेको निष्कर्ष छ ।
महत्वपूर्ण परिघटनाः दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसलालाई इतिहासमै एक महत्वपूर्ण परिघटनाका रूपमा लिनुभएको छ । उहाँले अदालतको फैसला नेपाल र नेपाली जनताको हितमा रहेका कारण इतिहासले सम्मान गर्ने पनि बताउनुभएको छ ।
फैसला स्वागतयोग्यः जसपा
जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई अदालतले फेरि एकपटक रोकेको जनाउँदै जसपाले फैसलाको स्वागत गरेको हो ।
समग्रमा एमाले नेताहरुले फैसला जनादेश, दलिय व्यवस्था र लोकतन्त्रको भावना विपरित आएको प्रतिक्रिया दिएका छन् । भने विपक्षी गठबन्धनमा आवद्ध दलहरुले फैसला ऐतिहासिक भन्दै स्वागत गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया