दार्चुला । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाउनुभएको छ ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ।
एमालेले आजका लागि केन्द्रीय कमिटी बैठकसमेत राखेको थियो। तर स्थायी कमिटी बैठक बसेपछि केन्द्रीय कमिटी कहिले बस्ने भन्नेबारे तय हुने तामाङले बताउनुभयो ।
साथै वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि स्थायी कमिटी बैठकमा जान सक्ने सम्भावना बढेको छ। नेता नेपालले सोमबार विपक्षी गठबन्धनको छलफलमा आफू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने बताउनुभएको थियो । एमालेमा एकता अगाडि बढेको नेपालको भनाइ थियो।
एमालेमा देखिएको विवाद समाधान गर्न कार्यदलले १० बुँदे प्रस्ताव तयार पारेको थियो। उक्त प्रस्तावलाई स्थायी कमिटीबाट अनुमोदन गर्ने तयारी छ।
सोमबार स्थायी कमिटी बैठक बोलाए पनि त्यसले औपचारिकता प्राप्त गर्न सकेको थिएन। अनौपचारिक रूपमा नेताहरू छलफल गरेका थिए।
आजको बैठकले सर्वोच्च अदालतको फैसला पछि अब कसरी अगाडि बढ्ने भन्नेबारे औपचारिक धारणा बनाउने छ । हिजो सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।
हिजो बसेको एमाले स्थायी कमिटी बैठकले अदालतको फैसलाले लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीका आधारभूत संरचनालाई खलबल्याउने काम गरेको निष्कर्ष निकालेको थियो । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको फैसला अप्रिय र त्रुटिपूर्ण भए पनि फैसला कार्यान्वयन भने गर्ने बताउनु भएको छ ।
सर्वोच्च अदालतको फैसला पछि राष्ट्रपति कार्यालयले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र शपथ गराउने तयारी गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया