दार्चुला । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेसंगै उहाँ पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुन लाग्नुभएको छ ।
देउवा वि.स. २००३ जेठ महिनामा डडेल्धुरा जिल्लाको तत्कालिन असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिनुभएको हो । उहाँले प्राथमिक शिक्षा असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिनुभयो । एलएसली दिएपछि देउवाले २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो । यसपछि उहाँ नेविसंघभित्र राजनीतिमा सक्रिय हुनुभयो ।
२०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी हुनुभयो । देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएर खटाउनुभएको थियो । २०४६ सालमा नेपाली कांग्रेसले देशमा पहिलो जनाअन्दोलन अगुवाइ ग¥यो त्यतिबेला देउवा लन्डन स्कूल अफ इकोनोमिक्समा अध्ययनरत हुनुहुन्थ्यो । २०४७ सालमा जनाअन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं फर्किनुभयो ।
२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बन्नुभयो । गृहमन्त्री बनेको पाँच वर्षभित्रै उहाँ मुलुकको प्रधानमन्त्री बन्नुभयो । गिरिजाप्रसाद कोइरालाले २०५८ असार प्रधानमन्त्रीबाट राजिनामा दिनुभयो । यसपछि फेरि कांग्रेसको नेतृत्व देउवाकै पक्षमा आयो र उहाँ पुनः कांग्रेस संसदीय दलको उम्मेदवार बन्नुभयो । सुशील कोइरालालाई हराएर नेता बन्नुभयो । संसदमा पार्टीको बहुमत भएकाले उहाँ दोस्रोपटक प्रधानमन्त्री हुनुभयो ।
देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा “असक्षम“को आरोप लगाई विघटन गर्नुभएको थियो। देउवा दुई वर्षपछि वि.सं. २०६१ सालमा पुनः प्रधानमन्त्री नियुक्त हुनुभयो । पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) को गठन गर्नुभएको थियो ।
वि.सं. २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उहाँ वरिष्ठ नेतामा स्थापित हुनुभयो । नेपाली कांग्रेसको राजनीतिमा पाँच दशकपछि र सत्तरी वर्षको उमेरमा वि.सं. २०७२ सालको तेह्रौँ महाधिवेशनमा पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय हुनुभयो ।
२०७४ साल जेठमा देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । २०७४ सालमा भएका स्थानीय, प्रदेश र प्रतिनिधि सभाका तीनै निर्वाचन देउवा आफैँले गराउनुभयो । संविधान कार्यान्वयनका लागि तीनै निर्वाचित गराएर उहाँ सफल पनि हुनुभयो । तर निर्वाचनमा लज्जास्पद रुपमा कांग्रेस हा¥यो।
१७५ सिटको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जित्यो। तर देउवाले भने अत्यधिक मतसहित डडेल्धुराबाट छैटौँ पटक चुनाव जित्नुभयो । उहाँ २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालका सबै चुनावमा विजयी हुनुभएको छ । पटक–पटक १० वर्ष १० महिना जेलजीवन बिताएका देउवा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर जिल्ला र कैलालीबाट विजयी हुनुभएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया