दार्चुला । सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा दार्चुलामा पनि एमाले निकट अनेरास्ववियु र युवा संघले विरोध प्रदर्शन गरेको छ ।
प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न सर्बोच्च अदालतले राष्ट्रपतिको नाममा परमादेश जारी गरेपछि दार्चुलामा पनि बिरोध प्रदर्शन गरिएको अनेरास्ववियु सचिवालय सदस्य खेमराज जोशीले जानकारी दिनुभयो ।
अनेरास्ववियु सचिवालय सदस्य खेमराज जोशीको नेतृत्वमा आयोजित विरोध प्रदर्शन कार्यक्रममा युवा संघ दार्चुलाका संयोजक अनिल ठगुन्ना लगायत विद्यार्थी र युवा नेताहरुको सहभागिता रहेको थियो ।
नेकपा एमाले पार्टी कार्यालयबाट निस्किएको टोलीले खलंगा बजारमा सर्बोच्चको फैसला विरुद्ध नाराबाजी समेत गरेका छन् ।
नेकपा एमाले दार्चुलाका नेताहरुले अदालतको फैसलाले निर्दलीय व्यवस्थालाई मलजल गर्ने र नेपालको लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनाहरुलाई खल्बल्याउने काम गरेको बताएका छन् ।
सर्वोच्चको फैसलाले दलहरुले संघर्ष गरेर ३२ वर्षअघि समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभास भएको अनेरास्ववियु नेता जोशीले बताउनुभयो ।
सर्बोच्चको यो फैसलाले दुरगामी नकारात्मक असर पर्ने र लोकतन्त्र कमजोर हुने नेताहरुको भनाई छ ।
विरोध प्रदर्शन कार्यक्रममा युवाहरुले सर्बोच्चको फैसला पुर्वाग्रही ढंगबाट आएको र लोकतन्त्र र दलिय व्यवस्थालाई कमजोर पार्ने षडयन्त्र भइरहेको भन्दै जनता सचेत बन्नुपर्ने बताएको खलंगाबाट पत्रकार इन्द्र साउँदले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया