ओलीको सर्वोच्चमाथि आक्रोश, पार्टी पंक्तिलाई हौसला, प्रधानमन्त्रीमा रहँदा राम्रा काम गरेको दाबी

दार्चुला । सर्वोच्चको फैसलामार्फत पदबाट हटाइएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरवारबाट आफ्नो अन्तिम सम्बोधन गर्नुभएको छ । उहाँको सम्बोधन मूलरूपमा सर्वोच्च अदालतको फैसलामाथि केन्द्रित थियो ।

ओलीले आफूले पदमा रहँदा राम्रो काम मात्रै गरेको दाबी गर्नुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले तीन वर्ष पदमा बस्दा नागरिकको हितमा काम गरेको र देशमा राजनीति मात्रै होइन विकास पनि हुन्छ भन्ने सन्देश दिन सफल भएको बताउनुभयो ।

माथिल्लो तामाकोशी र मेलम्ची आयोजना पूरा गरेको, देशलाई सुरुङ युगमा प्रवेश गराएको, लोडसेडिङको अन्त्य गरेको, कर्णालीमा बिजुली पुर्याएको, तुइन विस्थापित गरेको लगायतका उदाहरण दिँदै ओलीले देश समृद्धि बाटोमा हिँडिरहेको बेलामा अलोकतान्त्रिक कामहरुमार्फत अवरोध गर्ने काम भइरहेको बताउनुभयो ।

‘सरकारबाट बाहिरिनु परेकामा चिन्ता छैन । इमान्दारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्याउनुपर्ने कुरालाई ध्यानमा राखेर काम गरेको छु । विकासका निम्ति नयाँ भिजन दिएर अगाडि बढाएको छु’ ओलीले भन्नुभयो ।

ओलीले सर्वोच्चको फैसलाको खुलेरै आलोचना गर्नुभयो, तर फैसलाको पालनामा भने आफू प्रतिबद्ध रहेको बताउनुभयो । विश्व इतिहासमै पहिलोपटक अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै व्यंग्य कसेका ओलीले सर्वोच्चलाई झेली रेफ्रीको संज्ञा दिनुभयो । रेफ्रीले नै गोल गर्न खोजेको उहाँको आरोप थियो ।

सम्वोधनको शुरूआतमै उहाँले अदालतको फैसलाबाट गर्नुभएको थियो । ओलीले भन्नुभयो, ‘म जनादेशबाट होइन, परमादेशबाट हटाइएको हुँ । जनादेश त अहिले पनि मेरो पक्षमा थियो । तर, परमादेश शेरबहादुरजीको पक्षमा आयो ।’

सर्वोच्चको फैसलाले पछाडि फर्किने गरी संविधान संशोधन गरेको टिप्पणी उहाँले गर्नुभयो । यो फैसलालाई इतिहासले अग्‍निपरीक्षा लिने चेतावनी पनि उहाँले दिनुभयो । शक्ति पृथकीकरणको सिद्धान्तलाई फैसलाले नकारेको तथा राज्यका अंगहरूको सन्तुलन खल्बल्याएको टिप्पणी उहाँको थियो ।

ओलीले संसदीय दलको ह्वीप उल्लंघन गर्दा कारवाही नहुने अदालतको फैसलाप्रति आपत्ति जनाउनुभयो । राजनीतिक दलबाट टिकट लिएर जितेको जनप्रतिनिधिले आफूखुशी भोट हाल्न पाउने व्यवस्था दलीय प्रणालीको मूल्य र मान्यताविपरीत रहेको उहाँको टिप्पणी थियो ।

एउटै पार्टीका सांसद सत्तापक्ष र प्रतिपक्ष दुवै हुन सक्ने गरी विचित्र अवस्थाको सिर्जना गरिदिएको ओलीले बताउनुभयो । अदालतले रेफ्रीको भूमिकामा सही न्याय दिन नसकेको उहाँको भनाइ छ ।

ओलीले भन्नुभयो, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरूको हो । तर, रेफ्री स्वयम्मा गोल गर्ने वा खास पक्षलाई जिताउने इच्छा जागृत भयो भने त्यसले जोखिम निम्त्याउँछ । अझ सन्दर्भमै नउठेका वा माग नै नभएका विषयमा समेत फैसला दिँदै जटिलता मात्रै बढाउँछ ।’

अदालतले आफ्नो अधिकारक्षेत्र बाहिर गएर राजनीतिक विषयमा हात हालेको आरोप ओलीले लगाउनुभयो। यसबाट भविष्यमा उत्पन्न हुन सक्ने दुष्परिणामप्रति चिन्ता व्यक्त गर्नुभयो ।

‘खोपको तमासा शुरू हुन्छ’

अपेक्षितभन्दा छोटो सम्बोधन गर्नुभएका ओलीले सरकारका उपलब्धीहरूको संक्षिप्त चर्चा गर्नुभएको थियो । सरकारले कोरोनाविरुद्धको खोप ल्याउनेतर्फ गरेका कामहरूको विवरण सुनाउनुभएका ओलीले अब आउने सरकारले खोप लगाएको फोटो हालेर त्यसलाई आफ्नो उपलब्धीका रूपमा देखाउने भविष्यवाणी गर्नुभयो ।

सरकारले १ करोड ३१ लाख मात्र खोप आपूर्ति सुनिश्चित गरेको उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘अब भरे वा भोलि बिहानबाट ल्याइदिएको खोप, लगाइरहेको खोप लगाएको फोटो राखेर हामीले खोप दिन थाल्यौं भनेर तमासा शुरू हुनेछ । मानौं चट गरेर आजै ल्याएका हुन् कि जस्तो । तर, मलाई यस्तो प्रचारमा प्रतिस्पर्धा गर्नु छैन ।’

संसद र सरकारको भविष्यमा आशंका

शेरबहादुर देउवाको नेतृत्वमा बन्ने नयाँ सरकार र संसदको भविष्यलाई लिएर ओलीले सन्देह व्यक्त गर्नुभयो । सरकार र संसद सही सलामत रहनेमा आफूलाई शंका रहेको उहाँले बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘बाँकी अवधि संसद चलोस् मेरो शुभकामना छ । समयमा निर्वाचन होस् शुभकामना छ । तर, मलाई यसमा शंका छ । जे जस्ता घटनाक्रम विकास हुँदैछन्, त्यसले संसद पनि सही सलामत अगाडि जाला र अब बन्ने सरकार सही सलामत ढंगले अगाडि बढ्ला भन्नेमा शंका छ ।’

पार्टी पंक्तिलाई सन्देश

ओलीले जाँदाजाँदै आफ्नो पार्टी पंतिको हौसला बढाउन खोज्नुभयो । साथै, हालै पार्टी एकताको सहमति गरेका असन्तुष्ट समुहलाई आरोपित समेत गर्नुभयो ।
कार्यकर्तालाई संयम रहन आग्रह गर्दै ओलीले भन्नुभयो, ‘फेरि बादल हटेर सूर्य उदाउनेछ । हामीलाई बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान्, त्यसपछि त जनतामा जानैपर्ला । जनताबाट रोक्न कसले सक्छ ?’

विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका आफ्नो पार्टीका नेताहरूप्रति ओलीले फेरि एकपटक आक्रोश व्यक्त गर्नुभयो । यस्तो गतिविधिलाई अनुशासनहीनता र अपराधको संज्ञा उहाँले दिनुभयो ।

ओलीले भन्नुभयो, ‘हाम्रा पार्टीका साथीहरूबाट विपक्षी खेलाडीलाई बल पास दिने काम भयो । आफ्नो पोष्ट खाली राख्ने र गोलकिपर बस्नै नदिने प्रयाससमेत भयो । यो अत्यन्तै चिन्ताजनक छ ।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?