दार्चुला । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वचन दिनुभएको छ ।
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा प्रधानमन्त्री भएको भोलिपल्ट बुधबार सरकार गठनमा निर्णायक भूमिका खेलेका नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वरमा पुग्नुभएको थियो । भेटमा नेता नेपालले प्रधानमन्त्री देउवालाई आफ्नो समूहका सांसदहरुले विश्वासको मत दिने आश्वासन दिनुभएको हो ।
नेता नेपालले आफ्नो समूहका नेताहरुलाई सुनाएअनुसार प्रधानमन्त्री देउवालाई सरकारलाई भ्रष्टाचाररहित बनाउन र जनभावना अनुसार काम गर्न सुझाव दिनुभएको छ। ‘उहाँले हामी तपाईंलाई विश्वासको मत दिन्छौं भनें भन्नुहुन्थ्यो’, भेटमा सहभागी नेता राजेन्द्र पाण्डेले भन्नुभयो । २०५१ मा एमालेका प्रधानमन्त्री मनमोहन अधिकारीले कांग्रेस र राप्रपाबाट मत पाएको स्मरण गर्दै पाण्डेले भन्नुभयो, ‘अहिले पनि देउवालाई भोट दिएर प्रतिपक्षमा बस्न सकिन्छ ।’
देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए । तर उनी र केपी शर्मा ओली दुवैको दाबी नपुगेको भन्दै प्रतिनिधिसभा भंग भएपछि देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालत गएका १४६ सांसदमा नेपाल समूहका २३ जना थिए ।
त्यही मुद्दामा सोमबार फैसला सुनाएको सर्वोच्चले संसद पुनर्स्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो । साथै ७६(५)को प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गर्दा वा विश्वासको मत दिंदा ह्वीप नलाग्ने र दल त्यागसम्बन्धी कारबाही नहुने पनि फैसला छ ।
फैसलाअनुसार २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदको समर्थन पाएका देउवालाई विश्वासको मत पाउन एमाले वा जसपाको महन्थ ठाकुर पक्षको मत चाहिन्छ । यदि देउवाले विश्वासको मत पाएनन् भने संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा विघटन भएर मध्यावधि चुनाव घोषणा हुन्छ ।
आफूहरू संसद बचाउन लडेकाले अहिले पनि देउवालाई विश्वासको मत दिनुपर्ने मत नेपाल समूहका नेताहरु राख्छन् । तर फैसला आउनुअघि एमालेमा भएको १० बुँदे सहमतिमा सरकारबारे संस्थागत रुपमा निर्णय गर्ने उल्लेख छ ।
यद्यपि पछिल्लो समय एमालेको एकता संकटमा परेको झैं देखिएको दुवै समूहका नेताहरु बताउँछन् । नेपाल समूहका नेता राजेन्द्र पाण्डे भन्छन्, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोट पुगेर एमाले एकता हुँदैन भनिसक्नुभयो ।’
बुधबार बालुवाटार छाडेर बालकोट पुगेका एमाले अध्यक्ष ओलीले नेता नेपाललाई गद्दार घोषणा गर्दै क्षमा दिन नसकिने बताउनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया