दार्चुला । दार्चुला जिल्लामा गत वैशाख २५ गतेदेखि जारी गरिएको निषेधाज्ञा हटाइएको छ । विद्यालय बाहेक सबै क्षेत्र खुलाउने गरेर निषेधाज्ञा हटाइएको हो । शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र भने हाल देशमा निषेधाज्ञाकै अवस्था रहेकाले अर्को व्यवस्था नभएसम्मका लागि बन्द रहने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिनुभयो ।
बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति दार्चुलाको बैठकले साउन १ गतेदेखि लागु हुने गरी निषेधाज्ञा हटाउने निर्णय गरे अनुसार भोलिदेखि लागु हुने गरी निषेधाज्ञा हटेको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति दार्चुलाको बैठकले जनजीवन सामान्य बनाउन स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।
सङ्क्रमण देखिएका स्थानीय तहमा सोही स्थानीय तहको सिफारिसमा स्थान विषेश निषेधाज्ञा लगाउन सकिने निर्णय गरि जिल्लाभरी लगाइएको निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । भारत संग सीमा जोडिएका झोलुङ्गे पुल स्थानीय तहले एन्टिजेन परीक्षण गर्ने प्रतिबद्धता गरे मात्र खोल्न सकिने निर्णय गरिएको प्रजिअ जोशीले बताउनुभयो ।
दार्चुलामा निषेधाज्ञा खुला भए पनि कोरोना संक्रमणको जाखिम कायमै रहेकोले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न अनुरोध गरिएको छ । निषेधाज्ञा खुलेसंगै दैनिक जनजीवन सहज बनेको छ ।
जिल्लाभित्र संञ्चालन हुने प्रत्येक सार्वजनिक सवारी साधनहरुले अनिवार्य रुपमा सम्बन्धित समितिबाट प्रमाणित गरेको भाडादर (दररेट) यात्रुहरुले देख्ने गरी टास्नु पर्ने तथा दररेट नटासेको पाइएमा सम्बन्धित सवारी साधनलाई कारवाही गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार दार्चुलाका चार वटा स्थानीय तहका १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पाँच वटा स्थानीय तह तत्कालका लागि सक्रिय संक्रमित मुक्त पालिका बनेका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया