दार्चुला । दार्चुला, बैतडी लगायत सुदूरपश्चिममा साउन महिना सुरु भएसंगै झ्याल ढोकाहरुमा काँडेदार रुखहरुको हाँगाँ झिझिरकाँडा राख्ने प्रचलन छ ।
दार्चुला जिल्लाका विभिन्न स्थानमा असार मसान्तका दिन बेलुकी झ्याल ढोकाहरुमा भिझिरकाँडा राख्ने गरिन्छ भने कतिपय क्षेत्रमा साउन १ साउने संक्रान्तीका दिन राख्ने चलन छ । मैखोली लगायत केहि गाउँहरुमा भने झिझिरकाँडा राख्ने चलन छैन् ।
साउने संक्रान्ती संगै देवी–देवता शिव भगवानको बासस्थान मानिने कैलाश जाने भएकाले सुरक्षाका लागि स्थानियहरुले झ्याल ढोकामा झिझिरकाँडा राख्ने चलन रहेको बुढापाखाहरु बताउछन् । साउन महिना भरी देवी देवता कैलाश तिर हुने भएकोले घरभित्र राक्षसहरु नआउन भनेर झ्याल ढोकामा झिझिरकाँडा राख्ने परम्परा रहेको लेकमका कुन्ती लावडले बताउनुभयो ।
साउन महिना मानिसहरु देवी–देवताको साहारा बिना बस्नु परेकाले पनि विभिन्न घट्नाहरु हुने भन्दै असार मसान्तका दिन सरसौँ, कालोमास, गहत, जौ, तिल जस्ता पञ्च नाजले परिवारका सबै सदस्यहरुको टाउमाथि घुमाएर बाहिर फाल्ने चलन पनि रहेको छ । यसरी पाँच प्रकारका अन्नले टाउको माथि घुमाएर फालेपछि रोग ब्याधी, शरीरमा चोटपटक नलाग्ने जनविश्वास रही आएको छ । साउन महिनालाई कालो महिना पनि भन्ने गरिएको छ ।
साउन महिनामा कैलाशमा देवी देवता र राक्षसहरुले पासा अर्थात् जुवा खेल्ने गरेको जन विश्वास छ । साउन महिनामा कैलाशमा गएर देवी देवता एकातिर र अर्काेतिर राक्षसको समूहबीच पासा खेलमा प्रतिष्पर्धा हुने गरेको किम्बदन्ती छ । देवी देवताको विजय भएका मानव बस्तीहरुमा प्राकृति प्रकोपहरु कम हुने र राक्षसको विजय भएमा मानवी बस्ती तथा प्रकृतिमा विभिन्न खालका समस्या तथा विपदहरु निम्तिने जनविश्वास रहीआएको छ ।
साउन १ गते कैलाश गएका देवी–देवताहरु भाद्र १ गते फर्किन्छन् भन्ने जनविस्वासका आधारमा साउन महिनालाई कालो महिना पनि भन्ने गरिन्छ । भाद्र १ गतेका दिन देवी–देवता र राक्षसबीचको हारजित कसको भयो भनेर गाउँमा देउता सोधेर सुन्ने तथा सुनाउने गरिन्छ । यो परम्पराप्रति युवा पुस्ताको भने चाँसो घट्दै गएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया