दार्चुला । व्यास गाउँपालिका वडा नम्बर २ बाट दार्चुला सदरमुकाम खलंगा आइरहेका नेपाली नागरिक जयसिंह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुईन काटे पछि तुइनको तारसंगै हुत्तिएर महाकालीमा बेपत्ता भएपछि एसएसबीको चौतर्फी बिरोध तथा नेपाल सरकारको समेत आलोचना भइरहेको छ ।
भारतीय प्रहरीले तुइन हटाएकै कारण धामी महाकालीमा बेपत्ता भएको भन्दै विभिन्न व्याक्ति, संगठन र नेताहरुले एसएसबी प्रति आक्रोश व्यक्त गर्दै सरकारको ध्यानआकर्षण गराएका छन् । प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले उक्त घटना सम्बन्धमा भारतीय एसएसबीको संलग्नता बारे विभिन्न समाचारहरु आईरहेकोले अभिलम्ब नेपाल सरकारले भारतीय पक्षसँग समन्वय गरि सत्यतथ्य छानबिन गरि दोषि माथि कार्वाहीको लागि जोरदार माग गर्नुभएको छ ।
एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियूले एसएसबीले दार्चुला सदरमुकाम आइरहेका नेपाली नागरिकलाई तुईन काटेर महाकालीमा बेपत्ता बनाएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
अनेरास्वबियूका केन्द्रिय अध्यक्ष ऐन महर,अनेरास्ववियु दार्चुलाका संयोजक आनन्द बडाल र दार्चुला बहुमुखी क्याम्पस इकाइ कमिटी अध्यक्ष शन्तोषसिंह ठगुन्नाले बिज्ञप्ती जारी गर्दै सो घटना अत्यन्तै क्रुर रहेको भन्दै तत्काल आफ्नो धारणा सार्वजनिक गर्न सरकारको ध्यानकर्षण गराएका छन् । दार्चुला सदरमुकाम आउने क्रममा शुक्रबार व्यास गाउँपालिका वडा नम्बर २ मालघाटमा महाकाली नदी तर्ने क्रममा एसएसवीले तुईन काटिदिँदा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । अनेरास्वबियूले सो घटना निकै क्रुर र भारतको चरम बदमासी भन्दै कडा आक्रोश पोखेको छ ।
‘दार्चुला जिल्लामा पर्ने व्यास गाउँपालिका २ मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसवीले तुइन काटिदिँदा ३५ बर्षीय नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएको खवरले निकै दुखित, मर्माहत एवं आक्रोशित तुल्याएको छ । यो क्रुर र आपराधिक घटनाको अनेरास्व्बियू केन्द्रीय कमिटी घोर निन्दा र भत्र्सना गर्दछ,’ महरले बिज्ञप्तीमा भन्नुभएको छ । सो घटनाको बिषयमा सरकारले कुनै चासो नलिएको भन्दै अखिलले आपत्तिसमेत जनाएको छ ।
‘के नेपाली जनताले सधै नै भारतको ज्याद्धती र दादागिरी सहेर बस्नुपर्ने हो ? उस्को अगाडि निरिहता, लघुताभाष बोध गर्नुपर्ने हो ? खोई हाम्रो स्वाधिनता, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाभिमानको रक्षा गरेको ? भारतको लागि बनेको कम्फर्टेवल सरकार किन मुकदर्शक बनेर बसेको छ ?’ अनेरास्ववियु अध्यक्ष महरले बिज्ञप्तीमा भन्नुभएको छ, ‘आफ्ना नागरिकको जीवन रक्षा गर्ने कर्तब्य र जिम्मेवारीबाट बिमुख हुने छुट यो सरकारलाई छ ? अनेरास्वबियू यो सरकारलाई गम्भीर प्रश्न् गर्दछ । तत्काल दोषीमाथि कारवाही र पीडित पक्षलाई क्षतीपुर्तिको ब्यवस्था गर्न अनेरास्वबियू गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
यसैगरी दार्चुलाका विभिन्न दलका नेता, कार्यकर्ता र मृतकका आफन्त, शुभचिन्तक तथा स्वतन्त्र नागरिक सामाजले समेत घटनाप्रति दुख व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन तथा दोषिलाई कडा कारवाहीको माग गरेका छन् ।
व्यासवासीद्धारा तुइन काट्ने एसएसबीलाई कारबाहीको माग
तुइन तर्दा तर्दै तुइन काट्ने भारतीय सिमा सुरक्षा बल एसएसबीका संलग्न व्यक्तीलाई कारबाहीको माग राख्दै व्यासका स्थानीयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निवेदन दिएका छन् ।
शुक्रबार विहान साढे ८ बजेतिर महाकाली नदी माथी लगाएको तुइन तरेर भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा आउने क्रममा व्यास गाउँपालिका वडा नम्बर २ मालका ३० वर्षीय जयसिंह धामी तुइन तर्दै गर्दा पोशाक र हतियार सहित आएका एसएसबीले तुइन काट्दा नदीमा खसेर बेपत्ता भएको स्थानियको भनाई छ ।
मानिसले बाच्न पाउने अन्तराष्ट्रिय मानव अधिकार, न्युनतम मानविय मूल्य मान्यता र नेपाल–भारत सीमा क्षेत्रमा चलिआएको व्यवहारिक सम्बन्ध जस्ता सामाजिक मुल्य मान्यतालाई चुनौती दिदै तुइन तरिरहेको अवस्थामा तुइन काटेर जिउदै नदीमा बगाएको हुँदा उक्त पाशविक घट्नामा संलग्न एसएसबीलाई कारबाही गर्न प्रशासनलाई स्थानीयले निवेदन दिएका हुन् ।
उक्त घट्नालाई तोडमोड गरी घट्नाको सत्यतथ्य लुकाउन प्रत्यक्षदर्शीलाई नियन्त्रणमा राखिएको निबेदनमा उल्लखे गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया