दार्चुला । लेकम गाउँपालिकाको अस्थाई कार्यालय खरकडामा तालाबन्दी गरिएको छ ।
गाउँपालिकाको केन्द्र रातामाटाबाट कार्यालय सञ्चालन गर्न पटकपटक माग गर्दा समेत खरकडाबाट रातामाटा कार्यालय नसारेको भन्दै तत्काल कार्यालय रातामाटाबाट सञ्चालन गर्न माग गर्दै लेकम गाउँपालिका वडा नम्बर १, २, ५ लगायत वडाबाट गएका स्थानीयहरुले तालाबन्दी गर्नु परेको कैनोडाका स्थानीय शिवराज जोशीले जानकारी दिनुभयो ।
गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि लेकम गाउँपालिकाकै गाउँकार्यपालिका र गाउँसभाबाट निर्णय गर्नुका साथै नेपाल सरकार राजपत्रमा समेत रातामाटा कार्यालय भनेर तीन वर्ष पहिले नै सरकारको निर्णय अनुसार प्रकाशित भएको, कार्यालय निर्माणका लागि रातामाटामा विगतमै जग्गादान गरेको, भवन निर्माणका लागि डिपिआर, माटो परीक्षण, टेण्डर र प्रशासकिय भवन निर्माणका लागि सम्झौता समेत भइसकेकोले छिटो कार्यालय सञ्चालन गर्न स्थानीयले माग गरेका छन् ।
गाउँपालिकाको कार्यालय रातामाटा नसार्दासम्म तालाबन्दी जारी रहने स्थानीयहरुको माग छ । अहिलेसम्म लेकम गाउँपालिकाका कागजपत्रहरुमा गाउँपालिकाको कार्यालय रातामाटा भनेर उल्लेख भएपनि कार्यालय सञ्चालन भने खरकडाबाट नै भइरहेको छ ।
रातामाटाबाट कार्यालय सञ्चालन गर्नका लागि गाउँकार्यपालिकाबाट निर्णय गरेर कामकाज शुरु गर्ने तयारी भइरहेको गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बताउनुभयो । विगतदेखि नै गाउँपालिका र जनप्रतिनिधिहरुकै पहल, सहमती तथा निर्णय अनुसार रातामाटामा केन्द्र स्थापनादेखि भवन निर्माणसम्मका कामकाम भइरहेकोले कार्यपालिका बैठकपछि कामकाज सञ्चालन रातामाटाबाट हुने गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो ।


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया