दार्चुला । विद्युतको माग गर्दै शैल्यशिखर नगरपालिका वडा नम्बर ६ र मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का स्थानीयवासीले आन्दोलन गरिरहेका छन् ।
विद्युतका पोल गाडीएको चार वर्ष बित्दापनि बिजुली बाल्न नपाएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । चरणबद्ध आन्दोलन अन्तरगत शनिबार विहान ७ बजेदेखि ११ बजेसम्मका लागि महाकाली लोकमार्ग अन्तरगत चैतलीचौर क्षेत्रमा सडक बन्द गरिएको छ ।
विद्युत सूचारु गर्न १० दिन अगाडी प्रशासनलाई जानकारी गराएको र सुनुवाइ नभएपछि आन्दोलन गर्नुपरेको शैल्यशिखर ६ का स्थानीय अमर धामीले बताउनुभयो ।
प्रकाशसिंह धामीको नेतृत्वमा संघर्ष समिति बनाएर स्थानीयहरुले आन्दोलन थालेका हुन् । शनिबार सडक नै अवरुद्ध पारेपछि विद्युत कार्यालयका प्रतिनिधि र संघर्ष समिति बिच छलफल भइरहेको छ ।
विहान ७ देखि ११ बजेसम्मका लागि चौतलीचौर सडक अवरुद्ध गर्दा बस, मालबाहक ट्रक, जीप गरेर डेढ दर्जन यातायातका साधन सडकमै रोकिएको र सयौँ यात्रु अलपत्र परेको मालिकार्जुनबाट स्थानीय पत्रकार गणेशसिंह धामीले जानकारी दिनुभयो ।
केहि महिना पहिले पनेबाँज मा विद्युतकै लागि आन्दोलन हुँदा मालिकार्जुन र शैल्यशिखरमा केहि समयभित्रै विद्युत विस्तार गर्ने विद्युत कार्यालयबाट लिखित प्रतिबद्धता गरिएको भएपनि पुरा नभएपछि आन्दोलन गर्नुपरेको स्थानीयको भनाई छ ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया