दार्चुला । व्यास गाउँपालिका वडा नम्बर २ मालका ३३ वर्षीय जयसिह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुईन फुकालिदिदा तुइनबाट खसेर महाकालीमा बेपत्ता भएपछि चौतर्फी आलोचना भइरहेको छ । व्यास गाउँपालिका वडा नम्बर २ र ३ का वडा अध्यक्ष लगायत स्थानीयहरुले आइतबार दार्चुला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरि भारतीय एसएसबीले नै तुईनको डोरी फुकालेका कारण जयसिह धामी महाकालीमा बेपत्ता भएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै व्यास गाउँपालिका–३ का वडाअध्यक्ष उपेन्द्रसिह धामीले भन्नुभयो, एसएसबीले नै जयसिहको हत्या गरेको हो । घटना घटेपछि म पनि घटनास्थलमा पुगेको थिए । त्यसतिबेला एसएसबी मात्रै भेटे, जयसिंहका आफन्तहरुले त्यसअघि नै भारतकै पागला प्रहरी चौकीमा तुईन काट्ने एसएसबी विरुद्ध निवेदन पेस गरिसकेका थिए । स्थानीयले दर्ता गरेको निवेदनको प्रतिलिपि माग गरेपनि आफुलाई नदिएको उहाँले बताउनुभयो । आफुले घटनास्थलबाट फर्किने बेला नै तुईन काट्ने दुबै जना एसएसबीलाई अन्यत्रै पठाइएको जानकारी पाएको वडाअध्यक्ष धामीको भनाई छ ।

स्थानीयहरुले आफ्नै आखाँले देखेको कुरा झुटो हुन सक्दैन, एसएसबीले तुइन फुकालेकै हो, उहाँले भन्नुभयो, एसएसबीकै कारण नेपाली नागरिकको ज्यान गएकोले दोषिलाई कडा कारवाही हुनुपर्छ । ज्यानमारा एसएसबीलाई कडा कारवाही गरेर पिडित परिवारलाई स्थानीय, प्रदेश र संघीय सरकारले राहातको व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।

पत्रकार सम्मेलनमा वडा नम्बर २ का वडाअध्यक्ष एबं व्यास गाउँपालिकाका प्रवक्ता धिरनसिंह बुढाथोकीले जयसिह धामीको हत्या नै भएकोले घटनामा संलग्न एसएसबीलाई कारवाही हुनुपर्ने बताउनुभयो । पिडित परिवारलाई गाउँपालिकाको तर्फबाट केहि दिन भित्रै राहात दिने बताउदै उहाँले प्रदेश र संघीय सरकारले समेत राहातको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । महाकालीमा बेपत्ता जयसिहको परिवार शोकमा डुबेको छ ।
शुक्रबार जयसिंहभन्दा अघि तुइन तरेका प्रत्यक्षदर्शीले तुइनबाट जयसिंह पारि (भारततर्फ) पुग्न एक–डेढ मिटर बाँकी रहँदा एसएसबीले डोरी काटेको बताएका थिए । सडकमार्गको पहुँच नहुँदा स्थानीय बासिन्दा सदरमुकाम आउन पनि तुइनकै भर पर्नुपर्ने बाध्यता छ । तुइन तरेपछि भारतपट्टिबाट गाडी चढेर व्यासवासी धारचुला पुग्छन । धारचुलाबाट खलंगा पुलघाट झोलुगें पुल तरेर उनिहरु दार्चुला सदरमुकाम आउने गरेका छन् । तर, पछिल्लो समय एसएसबीले वेलावेलामा तुइन काटेर दुःख दिने गरेको छ ।

शुक्रबार बिहान जयसिंह तुइन तर्दा सञ्चालक कल्याणसिंह धामीले तीनजना तरेपछि मात्रै डोरी फुकाउन एसएबीलाई अनुरोध गरेका थिए । तर, एसएसबीका जवानले अमानवीय व्यवहार देखाउँदै जयसिंह तरिरहेका वेला डोरी फुकालिदिए । जयसिंहपछि तुइन तर्ने लाइनमा विक्रम रंकोली थिए । रंकोलीले भन्नुभयो, हामीसँग फोटो खिच्न मोबाइल थिएन । हामी तीनजना नेपालतिर थियौँ । जयसिंह भारतपट्टि पुग्ने वेला नदीमा खसे । एक्कासि उनी महाकालीमा डुबेपछि हामी पनि आत्तियौँ, उहाँले थप्नुभयो, नेपालतिर भएको भए उद्धारमा कोसिस गथ्र्यौँ, एसएसबीका जवान जयसिंह महाकालीमा खस्नेबित्तिकै भागेर पाँगलास्थित ब्यारेकतर्फ गए ।’ नदीमा पानीको मात्रा बढी भएकोले जयसिहलाई हामीले बचाउन सकेनौँ ।

तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले डोरी काटिदिएपछि महाकाली नदीमा बेपत्ता भएका धामी अझै फेला पर्नुभएको छैन् । वैदेशिक रोजगारीका लागि यसअघि दुई वर्ष कतार र एक वर्ष दुबईमा सेक्युरिटी गार्डको काम गरेका धामी गत वर्ष कोरोना महामारीले काम छुटेपछि नेपाल फर्किनुभएको थियो । शुक्रबार फेरी सपनाको भारी बोकेर विदेश जाने प्रक्रिया थाल्न काठमाडौं हिँडेका धामीका सारा सपना आफुसंगै महाकालीमै बिलय भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले महाकाली छेउमा निरन्तर जयसिहको खोजी गरेपनि कतै फेला नपरेपछि खोजिमा हिँडेका परिवारका सदस्य र गाउँलेले मृत्यु भएको आशंकामा कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।
विदेश जाने सपना बुनेर घरबाट हिडेका श्रिमान महाकालीमा बेपत्ता भएको खबर सुनेदेखि श्रीमती राजन्ती छिनछिनमा बेहोस भइरहनुभएको छ । छोराछोरीको पनि रुवाबासी चलेको छ । परिवारले अभिभावक गुमाएपछि डेढ वर्षकी छोरी र सात वर्षका छोराको लालन–पालन र शिक्षा–दीक्षाको जिम्मेवारी राजन्तीकै काँधमा आएको छ ।

वडाअध्यक्ष उपेन्द्र धामीले दिएको प्रतिक्रिया हेर्न यहाँ क्लिक गर्नुहोस

 

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?