दार्चुला । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गर्नुभएको छ ।
मन्त्रालयले सोमबार आयोजना गरेको भर्चुअल प्रेस मिटमा श्रेष्ठले सुरक्षाकर्मीबाहेक सरकारले दिने तलबभत्ता, आवासलगायत सुविधा नलिने बताउनुभएको हो ।
त्यस क्रममा उनले आफूले काम गरिरहेका व्यावसायिक संस्थाहरूबाट अलग भइसकेको पनि बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले १ सय दिनको भावी कार्ययोजना सार्वजनिक गर्दै खोपको वितरण तथा व्यवस्थापनमा बढी जोड दिने बताउनुभयो ।
सोमबार २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले नेपालमै कोरोना खोपको व्यावसायिक उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढाइएको जानकारी दिनुभयो ।
उहाँले खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकृतिको चरणमा रहेको पनि जानकारी दिनुभयो । त्यस्तै मन्त्री श्रेष्ठले फाइजर–बायोएनटेकको ६० लाख डोज खोप खरिदको प्रारम्भिक काम सम्पन्न भई उत्पादक कम्पनीसँग प्रक्रिया थालनी गरिएको बताउनुभयो ।
विदेश जाने प्रयोजनका लागि खोप लगाएको प्रमाणपत्र सम्पूर्ण सरकारी अस्पतालबाट सहज तरिकाले वितरण गर्ने प्रबन्ध मिलाइएको पनि उहाँले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया