दार्चुला । महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबीले) तुईनको डोरी फुकालिदिएपछि जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समिति दार्चुला पुगेको छ। गृह मन्त्रालयले घटनाबारे छानविन गर्न सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति मंगलबार बेलुकी दार्चुला आइपुगेको हो।
समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य छन्।
टोलीलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ। दार्चुला पुगेको टोलीले मंगलबार राति के–कसरी जाने भन्ने विषयमा सामान्य छलफल मात्रै गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो । ‘आजदेखि टोलीले छानबिन सुरु गर्छ,’ भट्टले भन्नुभयो । आज पत्रकार, मानवअधिकारकर्मी, जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु लगायतसंग छलफल गर्ने तयारी छ ।
साउन १५ गते व्यास गाउँपालिका वडा नम्बर २ मालगाउँ बस्ने जयसिंह धामी तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए। नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेका बेला भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन्। जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका प्रहरी नायब उपरिक्षक, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको टोलीलाई घटनास्थलमा खटाएको थियो।
उक्त टोलीले घटनाका प्रत्यक्षदर्शीहरू कल्याणसिंह धामी, अनिता धामी, विक्रम रङ्कोली र अन्य तीन गाउँलेलाई सदरमुकाम ल्याएको छ। कल्याणले २१ वर्षदेखि त्यहीं तुइन सञ्चालन गर्दै आएका छन्। अनिता र विक्रम जयसिंहसँगै सदरमुकाम हुँदै काठमाडौँ जानका लागि गाउँबाट हिँडेका थिए। प्रत्यक्षदर्शीबाट समेत घटनाबारे बयान लिइने सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताउनुभयो ।
यो घटनामा सरकार गैरजिम्मेवार देखिएको भन्दै विभिन्न राजनीतिक दल, मानवअधिकारकर्मी, प्रतिनिधिसभा सदस्य लगायतले विरोध जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा दार्चुलाबाट निर्वाचित सासंद गणेशसिंह ठगुन्नाले घटनाबारे सत्यतथ्य बाहिर ल्याउन संसदिय छानबिन समिति गठन गर्न र भारतसंग औपचारीक विरोध जनाउन माग गर्नुभयो । एसएसबीले तुईन फुकालेकोले घटनामा संलग्न एसएसबीलाई कडा कार्वाहीको माग र पिडित परिवारलाई उचित क्षर्तीपुर्तीको व्यवस्था गर्नुपर्ने माग समेत गरिएको छ । सीमामा नागरिकले भोग्नुपरेको समस्या समाधान गर्न दार्चुला तिकंर सडक राष्टिय महत्तकासाथ तिब्र गतिमा निर्माण गर्नुपर्ने सासंद ठगुन्नाको भनाई छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया