दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–२ मालगाउँका जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको छानबिन समिति स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै घटनास्थल गस्कु मालघाट पुगेको छ । मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली विहिबार दिउँसो भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि घटनास्थल पुगेको हो ।
साउन १५ गते व्यास गाउँपालिका–२ मालका जयसिंह धामी सदरमुकाम खलंगा आउने क्रममा महाकाली नदीमा बेपत्ता भएका थिए । भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिँदा घटना घटेको प्रतक्षदर्शीले बताएपछि घटनाबारे अध्ययन गर्न छानबिन समिति दार्चुला पुगेको हो । बेपत्ता धामी अझै फेला परेका छैनन् । जयसिंह धामी बेपत्ता प्रकरणमा घटनास्थल पुगेर त्यहाँको वस्तुस्थिति बुझ्ने काम भएको समिति संयोजक गौतमले बताउनुभयो । समितिले भारतीय एसएसबीको संलग्नता र स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि भारतीय पक्षबाट जानकारी लिएको छ ।
बुधबार जिल्लास्थित पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल र व्यास गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गरेपछि टोली विहिबार गस्कु गएको हो । नेपाल–भारत जोड्ने तुइन लगाएको क्षेत्रको समितिले अवलोकन गरेको छ । समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सदस्य छन् । छानविन टोली बाहेक सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बम, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक डिएसपी मनोहर प्रसाद भट्ट टोली संगै घटनास्थलमा गएका छन् ।
नेपाली छानविन टोली संगै भारतको डिडिहाटका एसएसबी कमाण्डेन्ट महेन्द्र प्रताप नेतृत्वको टोली पनि घटना स्थल गस्कुतर्फ गएको बताइएको छ । भारतको धार्चुलाबाट गाडिमा गएको टोली करिब २० किलोमिटर अघि तिउतोला भन्ने ठाउँमा सडक अवरुद्ध हुदाँ केही हिडेर गस्कुबाट गाडि झिकाएर गस्कु सम्म गएको हो । नेपाल तर्फबाट सडक नहुदाँ टोली भारतको बाटो भएर घटनास्थल तर्फ गएको हो । टोलीलाई १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको छ । घटनाबारे सत्यतथ्य बुझेर पिडितले न्याय पाउने गरी छानबिन समितिले प्रतिवेदन सार्वजनिक गर्ने समिति संयोजक गौतमको भनाई छ ।
भारतीय प्रशासनले एसएसबीका जवानले घटनास्थलमा गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबी गरेको छ । भारतीय पक्षबाट प्रतक्षदर्शीहरुलाई समेत प्रभावित पार्ने प्रयास भएको बताइएको छ । दार्चुलातर्फका प्रतक्षदर्शीहरुलाई दुई दिन दार्चुला सदरमुकाम खलंगामा राखेर बुधबार बेलुकी आफन्तहरुसंगै नेपालकै बाटोबाट गाउँ पठाइएको छ । सदरमुकाममा रहदा पत्रकारहरुसंग प्रतक्षदर्शीहरुको भेट गर्न समेत दिइएको छैन् ।
विहिबार दार्चुलाबाट रिपोर्टिङका लागि घटनास्थल जान लागेका पत्रकारहरुलाई समेत माथिको आदेश भन्दै एसएसबीले धारचुला पुलघाटबाट फर्काएको थियो । दोस्रो पटक जान दिने सहमति भएपनि क्यामेरा बोक्न नदिएको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिंह धामीले बताउनुभयो । क्यामेरा लैजान नदिएपछि केहि पत्रकार क्यामेरा छोडेर घटनास्थलमा गएका छन् । भने केहि पत्रकार धाचुलाबाटै फिर्ता भएका छन् । घटनास्थलमा गएका पत्रकारहरुले मोबाइल भने बोकेको बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





