नेपाल पक्षको बैठक: ओलीले आत्मालोचना गर्नुपर्ने, १० बुँदे सहमति सकारात्मक, सरकारमा नजाने

दार्चुला । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि नेतृत्वले आत्मालोचना गर्नुपर्नेमा जोड दिइएको छ ।

नेकपा एमालेको माधव नेपाल पक्षले पार्टीमा गठित एकता कार्यदलले गरेको १० बुँदे सहमतिलाई नै एकताको आधार ठहर्‍याएको छ । दुई दिनसम्म चलेको केन्द्रीय समिति वैठक आज ४ बुँदे निर्णय गर्दै सम्पन्न भयो । बैठकपछि पत्रकारसँग बोल्दै स्थायी कमिटी सदस्य नेता रघुजी पन्तले आफ्नो समूह सरकारमा नजाने बताउनुभयो ।

बैठकले आजसम्म भएका सबैखाले सहमतिलाई आधार मानेर एकताप्रक्रिया अझ परिष्कृत बनाउने र संवादलाई निरन्तरता दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकले एकता प्रक्रियामा अवरोध हुने गरी पार्टी सदस्यता वितरण र नवीकरण लगायतका सांगठनिक गतिविधि नगर्न समेत संस्थापन पक्षसंग आग्रह गरेको छ ।

‘१० बुँदे लगायतका सहमतिले एकताको आधार तयार गरेको छ । पार्टीलाई एकताबद्ध बनाउन थप सजगतासाथ अगाडि बढ्नुपर्छ भन्ने बैठकको निर्णय हो’, पन्तले भन्नुभयो । बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जति गाली गरे पनि एमाले एकताको पक्षमा आफू रहेको बताउनुभयो । ‘केपी ओलीले जति गाली गरेपनि म अझै पनि एमाले एकताको पक्षमा छु । केपी ओलीले हामीलाई अल्मल्याउन खोजेको हो कि भन्ने शंका छ तर पनि त्यस्तो नहोला भन्ने मेरो विश्वास छ । एकताको प्रयत्न जारी राखौ’, नेपाललाई उद्धृत गर्दै पन्तले भन्नुभयो ।

बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । केन्द्रीय कमिटीको बैठकमा आज ३५ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । उनीहरूले सम्मानजनक पार्टी एकताको पक्षमा धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?