दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालेर गत साउन १५ गते महाकालीमा बेपत्ता भएका व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामीको ड्रोन क्यामेराबाट महाकाली नदीमा खोजी गरिने भएको छ ।
घटनाको अनुसन्धान गर्न सरकारले गठन गरेको गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानविन समिति साउन १९ गते देखि दार्चुलामै छ । सरकारले जयसिंहको खोजी गर्न समितिलाई निर्देशन दिएपछि ड्रोन क्यामेराको प्रयोग गरिन लागेको समिति संयोजक गौतमले बताउनुभयो । काठमाडौंबाट ड्रोन क्यामेरासहितको टोली आइतबार साँझ दार्चुला आइपुगेको छ । अनुसन्धान टोलीले अहिले पनि बयान लिने, सोधपुछ गर्ने काम गरिरहेको छ ।
सीमानदीमाथि ड्रोन उडाउन सहमतिका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्लाका डिएम कार्यालयलाई पत्राचार गरेको छ । संयोजक गौतमका अनुसार तुइन लगाइएको व्याँस गाउँपालिका– २ मालघाटदेखि सदरमुकाम खलंगासम्मको नदी र नदी किनार क्षेत्रमा ड्रोन क्यामेराबाट खोजी गरिनेछ । यहाँसम्मको दूरी करिब २५ किलोमिटर रहेको छ ।
साउन १७ गते गठन भएको छानविन समितिलाई १० दिनभित्र प्रतिवेदन तयार गर्ने समयावधि तोकिएको थियो । तर, समिति ८ दिनसम्म अनुसन्धान, सूचना संकलन र घटना विश्लेषणकै क्रममा रहेकोले तोकिएको समयभित्र प्रतिवेदन तयार हुने सम्भावना न्यून रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया