दार्चुला । सरकारले चालु आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा पालिका तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको हो ।
यसैगरी बैठकले नेपाल कृषि तथा वन सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको यही साउन २४ को सिफारिसअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८ छलफलका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा, विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) नियमावली २०७८ छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा र सैनिक सेवा (चौथो संशोधन) नियमावली २०७८ छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय गरेको उहाँले बताउनुभयो ।
सरकारले माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन त्यही आयोजनाका सहायक प्रशासकीय अधिकृत कमलबहादुर बोगटीलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।
यस्तै नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिव सुधीर भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र सेवा राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा तथा नियुक्त गरी परराष्ट्र मन्त्रालय वा अन्तर्गत पदस्थापना गर्ने निर्णय गरेको छ । त्यही अवसरमा मन्त्री कार्कीले सरकारले आगामी दिनमा मन्त्रिपरिषद् बैठकको निर्णयका सूचना हप्ताको एक पटक दिइने जानकारी दिनुभयो ।
यसैबिच कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश भएपनि निर्णय भने हुन सकेन ।
उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजानुभएको थियो ।
‘मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आएको थियो । त्यसमा छलफल हुँदा केही प्रक्रिया अझै पुरा गर्नुपर्ने देखियो । त्यसैले सोमबारको बैठकले निर्णय गर्न सकेन’, मन्त्रिपरिषद स्रोतले भन्यो, ‘अर्को बैठकले निर्णय गर्ने छ ।’
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया