दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालेर यहि साउन १५ गते महाकालीमा वेपत्ता भएका व्यास गाउँपालिका वडा नम्बर २ मालगाउँका ३३ वर्षीय जयसहि धामीको घट्नाबारे छानबीन गर्न दार्चुला पुगेको समिति फर्किएको छ । १७ गते गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा गठित छानबीन समिति आठ दिनको दार्चुला बसाईपछि फिर्ता भएको हो ।
समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घट्नाबारे जानकारी लिने र महाकाली नदीसँग सीमा जोडिएका जिल्लाहरुका सुरक्षा अधिकारीसँग भेटघाट गरेर जयसिंहको खोजिका लागि समन्वय गर्ने जनाएको छ । जयसिहको डेथ बोडी खोज्न ड्रोन क्यामरासहितको नेपाल प्रहरीको प्राविधिक टोली आइतबारदेखि दार्चुलामै छ । भारतीय पक्षले सोमबारसम्म महाकालीमा ड्रोन प्रयोगको लागि अनुमति दिने/नदिने बारेमा जवाफ नपठाएको कारण अहिलेसम्म ड्रोन क्यामरा प्रयोग गरिएको छैन् ।
सीमा क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्न दुबै देशको सहमती आवश्यक पर्छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई महाकाली नदी क्षेत्रमा ड्रोन क्यामरा प्रयोगका लागि सहमति माग गरेपनि अहिलेसम्म जवाफ प्राप्त भइसकेको छैन् । भारतीय पक्षले जवाफ नदिए ड्रोन क्यामरा नेपालतिरकै भू-भागबाट प्रयोग गर्ने नेपाली पक्षको तयारी रहेको प्रहरीले जनाएको छ । व्याँस गाउँपालिका वडा नम्बर २ मालघाट देखि दार्चुला सदरमुकाम खलंगासम्मको २५ किलोमिटर क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्ने तयारी छ ।
सरकारले छानबीन समितिलाई १० दिन भित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको थियो । समितिलाई दिइएको समय बुधबार (भोली) सकिदैछ । तर प्रतिवेदन तयार पार्ने काम अझै नसकिएकोले निर्धारित समयमा प्रतिवेदन बुझाउने सम्भावना न्यून रहेको छ ।
छानबीन समितिले दार्चुलामा बस्दा नेपाल भारत दुवैतर्फबाट घट्नास्थलको निरीक्षण गरेको थियो । यस्तै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयबासी, घट्नाका प्रत्यक्षदर्शी र सुरक्षा निकायसँग छलफल गरेर सूचना संकलन गरेको छ । पीडित परिवारलाई भेटेर समेत समितिले छलफल गरेको छ । सरोकारवालाहरुको सुझाव, सुरक्षाकर्मी र प्रतक्षदर्शीको बयानका आधारमा घटनाको बिश्लेषण गर्दै प्रतिवेदन तयार पार्ने काम भइरहेको समितिले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया