दार्चुला । दार्चुला–बैतडी जोड्ने महाकाली लोकमार्ग अन्तरगत बैतडीको धरमघरमा बेला बेला खस्ने पहिरोको कारण यात्रु र यातायात व्यवसायी सास्ती भोगिरहेका छन् । सडकमा मोड सुधार कार्यक्रम अन्तर्गत धरमघरमा मोड काटिएपछि खस्न थालेको पहिरोले दिनहुँ जसो समस्या निम्त्याउने गरेको चालकहरु बताउछन् ।
धरमघरमा खस्ने पहिरोका कारण घण्टौं सम्म सडकमै बस्नुपर्ने बाध्यता रही आएको चालक भुवन डागाले बताउनुभयो । पहिरोका कारण यातायातका साधनहरु सञ्चालन गर्न निकै समस्या हुने गरेको छ । पानी पर्ने बित्तिकै पहिरो खस्न शुरु हुने र पहिरो पन्छ्याउन समय लाग्ने भएकाले चालक र यात्रुहरुलाई समस्या हुने गरेको उहाँले बताउनुभयो । दार्चुलाबाट अन्य जिल्लाका लागि छुट्ने र दार्चुला आउने गाडीहरु सोही मार्ग भएर आउने हुँदा निकै सास्ती भोग्नुपरेको यात्रुहरुले बताएका छन् ।
पहिरोका कारण एम्बुलेन्स समेत बीचबाटोमै रोक्नुपर्ने बाध्यता छ । अत्यावश्यक कामका लागि हिडेका यात्रुहरु समेत अलपत्र पर्ने गरेका छन् ।
धरमघरमा मोड सुधार कार्यक्रम अन्तर्गत मोड काटेपछि पहिरो खस्न थालेको र पहिरो सफा गर्ने कार्य नियमित रुपमा हुने गरेको सडक डिभिजन कार्यालय पाटनले दाबी गरेको छ । तर पहिरो खसेको घण्टौं पछि मात्रै पहिरो पन्छ्याउन पहल गरिने स्थानीयहरुको गुनासो छ । स्थानीय निर्माण व्यवसायीहरुसंग सहकार्य गरेर सो ठाउँको पहिरो पन्छ्याउने गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
धरमघर मात्र हैन महाकाली लोकमार्गको सतबाँझ-दार्चुला सडकखण्डमा वर्षातको समयमा ठाउँ ठाउँमा पहिरो खस्ने गरेका कारण यात्रु र व्यवसायीहरुले समस्या भोग्दै आएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया