दार्चुला । अगामी भदौ महिनामा मनाइने गौरा पर्वमा हुने भिडभाडजन्य गतिविधिहरुमा रोक लगाउने निर्णय गरिएको छ । शुक्रबार (आज) जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले सुदूरपश्चिमेलीहरुको महान पर्व गौरामा हुने मानिसहरुको भिडभाडलाई मध्यनजर गर्दै सामाजिक दुरीको अनिवार्य रुपमा पालना गर्ने गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा गौरा पर्व वर्षौदेखि भब्यताका साथ मनाइदै आएको छ । तर गतवर्षदेखि कोरोना महामारीका कारण विगतको जस्तो भिडभाड भने हुने गरेको छैन् । यो वर्षको गौरामा पनि सामाजिक दुरी कायम गरेर टोल तथा परिवारमा मात्रै गौरा पर्व मनाउन र भिडभाड नगर्न डिसिसिएमसिले अनुरोध गरेको छ ।
कोरोना संक्रमणको सम्भाबित तेस्रो लहरलाई मध्यजनर सबै स्थानीय तहहरुले निर्माण गरेका होल्डिङ सेन्टर, क्वारेन्टाइन र आइसोलेशनलाई व्यवस्थित गर्ने तथा होल्डिङ सेन्टर, क्वारेन्टाइन र आइसोलेशन निर्माण नगरेको भए तत्काल निर्माण गर्नका लागी पहल गर्ने, नागरिकहरुलाई स्वास्थ्य सम्बन्धि सुरक्षा मापदण्डहरुको कडाईका साथ पालना गराउन स्थानीय प्रशासनले पहल गर्ने र सो को उल्लघंन गर्ने लाई कानुन बमोजिम कारबाही गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।
बैठकले स्वास्थ्य संस्था र अस्पतालले आवश्यक अक्सीजन सिलिण्डर, बिरामी शैय्याको व्यवस्था, भेन्टिलेटर लगायत आवश्यक स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापन गर्ने, उक्त सामाग्रीहरुको व्यवस्थापनका लागी स्थानिय तह, प्रदेश सरकार र संघीय सरकारलाई तत्काल अनुरोध गर्ने निर्णय समेत गरेको छ । जनस्वास्थ्यका मापदण्डहरु (मास्कको प्रयोग, सामाजिक भौतिक दुरी कायम गर्ने तथा सरसफाई र सेनेटाईजरको पालनामा ध्यान दिन प्रचार–प्रसारका लागी जिल्ला स्थित सबै सञ्चार माध्यमलाई अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । नागरिकहरुमा सचेतना अभिबृद्धिका लागि दार्चुलामा पनि अहिले मास्क अभियान सञ्चालन भइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया