दार्चुला । राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा गरेको छ । झण्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबान राष्ट्रपति भवनमा प्रवेश गरेका हुन्। हिजो बिहान मात्रै राजधानी काबुल छिरेका तालिबानले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताए पनि राष्ट्रपति अशरफ घानी देश छोडेर भागेपछि उनीहरू राष्ट्रपति भवनमा छिरेका थिए। तालिबानले अब युद्ध सकिएको र राष्ट्रपति घानी भागेका समेत बताएको छ ।
तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिर समेत खिचेका छन् । अब अफगानिस्तानमा अमेरिकी सेना र पश्चिमी राष्ट्रको दबदबा पनि सकिएको तालिबानले बताएको छ । अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै कूटनीतिकज्ञहरुलाई सम्बन्धित देशले फर्काउन थालेका छन् ।
यति चाँडो जीत हासिल गरेकोमा तालिबानका नेता नै चकित
तालिवानले अफगानिस्तानको राजधानीलाई कब्जामा लिन सफल भएको छ । आइतबार तीन महत्त्वपूर्ण घटनाक्रमहरू भए । पहिलो – राष्ट्रपति अशरफ गनी र उपराष्ट्रपति अमीरुल्लाह सालेह आफ्ना निकटस्तहरुसँग देश छाडेर भागे । दोस्रो – तालिबानले राष्ट्रपति भवन (अर्ग) माथि कब्जा जमायो । तेस्रो– तालिबान नेता मुल्ला बरदारको बयान आयो ।
उनले भने, ‘सबै जनताको धनमालको सुरक्षा गरिनेछ । अगामी केही दिनमा सबै नियन्त्रणमा लिइने । हामीले सोचेकै थिएनौँ कि यति सजिलै र यति चाँडै जीत हासिल हुनेछ । आगामी केही दिनमा सबै सामान्य हुनेछ ।’ तालिवानका नेताहरू राष्ट्रपति भवनमा बसेर विभिन्न च्यानलहरूलाई अन्तरवार्ता दिइरहेका छन् । उनीहरूको दाबी छ कि राष्ट्रपति गनी देश छाडेर जाँदा ५० लाख डलर साथमा लिएर जाने प्रयासमा थिए । तर, उक्त रकम राष्ट्रपति भवनको हेलिप्याडमा नै छाडियो ।
केही मिडिया रिपोर्टमा राति काबुलमा केही विस्फोटको आवाजहरू पनि सुनिएका थिए । तर, तालिबान स्रोतहरूले यसबारे पुष्टि गरेको छैन । काबुल विमानस्थलबाट व्यावसायिक उडानमा रोक लगाइएको छ । यसबीच देशमा शान्ति बहाली गर्न एक समन्वय परिषद् बनाइएको छ । पूर्व राष्ट्रपति हामिद कारजईले यसको अगुवाइ गर्नेछन् । यसमा अब्दुल्ला अब्दुल्ला र जिहादी नेता गुलबुद्दीन हिकमतयार पनि रहनेछन् । समाचार एजेन्सीका अनुसार तालिवानले चाँडै राष्ट्रपति भवनबाट इस्लामिक इमिरेट्स अफ अफगानिस्तान घोषणा गर्ने तयारी गरेको छ ।
काबुलमा तीव्र गतिमा बदलिँदै परिस्थितिबीच अमेरिकाले स्केयूरिटी अलर्ट जारी गरेको छ । जसमा काबुल विमानस्थलमा सुरक्षाको अवस्था तीव्ररुपमा बदलिरहेको छ । केही मिडिया रिपोर्टमा विमानस्थलमा आगलागी भएको खबरसमेत आएको थियो । काबुलस्थित अमेरिकी दूतावास खाली भएको छ । अमेरिकी राजदूत अफगानिस्तान छाडेर भागिसकेका छन् ।
काबुल विमानस्थलमा कर्मचारीहरू भागेपछि कयौँ विमान बिना सबै यात्रु नै उडेको थियो । अहिले काबुलमा कुनै पनि यात्रुवाहक विमानहरू छैनन् । मात्र अमेरिकी सैन्य विमान रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया