दार्चुला । सुदूरपश्चिममा साउन १ गतेवाट सुरु भएको बत्ती बाल्ने महिनाको सोमबार समापन भएको छ । आज दार्चुला, बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा साउन अर्थात कालो महिना सम्पन्न हुन लागेको अवसरमा साउने त्यार समेत मनाइदै छ । धार्मिक महिनाका रुपमा समेत चिनिने साउन महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ । साउने सङ्क्रान्तिदेखि सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरा लगायत जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको छ ।
यो महिना कैलासमा राक्षस र देबीदेबताबिच लडाइ हुन्छ भन्ने जनविश्वास रहेको छ । साउनको महिना देवीदेवता बैकुण्ठमा शयर गर्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको स्थानीय संस्कृतिका जानकार राधापल्लब जोशीले बताउनुभयो । साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता कैलास जाने गर्दछन, हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान बैकुण्ठ वा कैलास गएको बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै मानव जगतमा कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ । साउन १ गतेदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रहिआएको छ । देबिदेवता तथा भगवान कैलास जाने भएकोले गाउँघरमा राक्षसहरुको अनिष्ठ गर्न सक्ने भन्दै सावधानी अपनाउने र कुनै कुनै गाउँघर झ्याल, ढोकामा झिझिरकाडी राख्ने चलन रहेको छ ।
मालिकार्जुन लगायत दार्चुलाका दर्जनौँ शक्तिपिठमा यो महिना भक्तजनहरुले बत्ती बालेका छन् । साउन महिनालाई पवित्र महिना रुपमा पनि मानिन्छ । साउन महिनाभर पार्वतीले व्रत बसी महादेव पति पाएको धार्मिक विश्वास छ । यसैले यस महिनाभरि खासगरी विवाहिताले आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको व्रत, उपासना र पूजाआराधना गर्छन् । साउनका सबै सोमबार महिलाले महादेवको पूजा गर्छन् । साउनमा महिलाहरु हरियो पोते र चुरा तथा रातो लुगामा सजिएका हुन्छन् ।
यससँगै साउनको महिनादेखि चाडपर्व सुरु भएको समेत मानिन्छ । देबिदेवता कैलासबाट फर्किएपछि कैलासमा राक्षसहरुसंग भएको हार जितका बारेमा स्थानीय धामी (पतर्या) कामेर बताउने चलन छ । देबिदेबताको जित भएमा बर्षभरी पृथ्बिमा शान्ति, सुरक्षा कायम हुने र राक्षसको जित भएमा अप्रिय घटनाहरु बढी हुने, बिषालु जनावरहरुको बिगबिगि हुने र अशान्ति सिर्जना हुने गरेको बुढापाखाहरु बताउछन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया