दार्चुला । दार्चुलामा महिला हिंसाविरुद्धका उजुरी बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार महिलामाथि हुने घरेलु तथा लैंगिक हिंसाविरुद्धका उजुरी बढ्दै गएका हुन्। आर्थिक वर्ष २०७५/०७६ मा जिल्लाभर ३९ घरेलु हिंसा, ५ लैंगिक हिंसा तथा २४ महिला हिंसाका गरी ६८ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।
त्यस्तै २०७६/०७७ मा घरेलु हिंसाका ४५ र महिला हिंसाका ३४ गरी ७९ वटा र २०७७/०७८ मा घरेलुका हिंसाका ३९ तथा महिला हिंसाका २३ वटा घटना दर्ता भएका छन्। चालु आर्थिक वर्षमा भने लैंगिक हिंसाका घटनाहरु नपरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले बताउनुभयो ।
हालसम्म ५३ वटा घटनाको मिलापत्र गरिएको छ भने ८ वटा मुद्दाहरुलाई जिल्ला अदालत दार्चुला पठाइएको छ। जिल्लामा ३ वर्षको अवधिमा घरेलु हिंसाका १२३, महिला हिंसाका ८१ र लैंगिक हिंसाका ५ वटा उजुरी दर्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया