दार्चुला घटना: छानविन समितिको म्याद तेस्रो पटक थपियो

दार्चुला । दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणको छानबिन गर्न गठित समितिको म्याद तेस्रो पटक थपिएको छ । पहिलो पटक १० दिन र दोस्रो पटक ७ दिन म्याद थप हुँदा पनि समितिले निष्कर्ष निकाल्न नसकेपछि गृहमन्त्री बालकृष्ण खाँणले तेस्रो पटक एक हप्ताको म्याद थप्नुभएको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार समितिले समय अपुग भएको भन्दै म्याद थप्न गरेको आग्रह अनुसार बिहीबारबाट लागू हुने गरी म्याद थपिएको हो । समितिले जयसिंह धामी नदी तर्दातर्दै भारतीय सीमा सशस्त्र बल (एसएसबी) ले तुइन फुकालिदिँदा घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । यद्यपि प्रतिवेदनमा लेख्ने विषय गृहमन्त्री खाँणसँग परामर्शपछि मात्र टुंगिने समितिका एक सदस्यले बताउनुभयो । स्रोतका अनुसार एसएसबीले तुइन फुकालेकै कारण जयसिह धामी महाकालीमा बेपत्ता भएको समितिको निष्कर्ष छ ।

जयसिंह धामी तुइन तर्दातर्दै महाकालीको भेलमाथि पुगेपछि भारतीय पक्षबाट लट्ठा खुस्काइएको स्थलगत अध्ययन र अनुसन्धानबाट देखिन्छ, प्रतिवेदनको निष्कर्ष पनि यही नै हुनेछ, स्रोतले भनेको छ । लट्ठाको सहारा गुमेपछि धामी महाकालीमा खसे । नदीको उर्लंदो भेलमाथि जोखिम मोलेर मान्छे तर्दातर्दै यसरी तुइनको लट्ठा खुस्काउनु अमानवीय मात्रै होइन, मानवताविरोधी अक्षम्य अपराध पनि हो ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजक रहेको छानबिन समितिले घटनाको स्थलगत निरीक्षण, अवलोकन, अनुसन्धान र प्रत्यक्षदर्शीसँगको सोधपुछ एवं बयानका आधारमा भारतीय पक्षले तुइनको लट्ठा खुस्काएकै कारण नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको हो । यस्ता घटना दोहोरिन नदिन तुइन विस्थापन तथा पक्की पुल बनाएर आउजाउ सहज बनाउने, नेपालतर्फको भूभागबाटै सहज बाटो निर्माण गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा समेट्न लागिएको छ ।

छानबिन समितिले यसलाई नै प्रमुख आधार बनाएर सरकारलाई रायसुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ । घटना हुँदा मालघाटमै रहेका नेपाली प्रत्यक्षदर्शीहरूले एसएसबीका जवानले तुइनको लट्ठा काटेपछि धामी भेलमा खसेको बताएका थिए ।

मन्त्री खाँणले जयसिंह प्रकरणमा सहसचिव जनार्दन गौतम नेतृत्वको समितिको प्रतिवेदन नै सरकारको अन्तिम निष्कर्ष हुने बताइसकेका छन् । समितिमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?