एमाले महाधिवेशन मंसिर १० देखि, समस्या समाधान गर्न उच्चस्तरीय कार्यादल गठन

दार्चुला । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ । माधव नेपाल छाडेर फर्किएका स्थायी कमिटी सदस्यसहितको बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो । त्यस्तै भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन पनि सरेको छ । विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुने भएको छ ।

स्थानीय तहका अधिवशेनहरुको मिति पनि सारिएको छ । बैठकले सबै प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ अघिकै संरचनाबाट क्रियाशील हुन निर्देशन दिएको छ ।

बैठकपछि एकताको सन्देश दिन सामूहिक फोटोसेसन गरियो । फोटोसेसन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दायाँ र बायाँ क्रमशस् उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल थिए । उनीहरू दुवै माधव नेपालबाट अलग भएर मूलधारमा आएका हुन् । एमाले पार्टी कार्यालयमा रहेको तुल्सीलाल अमात्यको सालिकअगाडि फोटोसेसन भएको थियो । तस्बिरमा सबै नेताहरू हर्षित मुद्रामा देखिएका छन् । गत पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि स्थायी कमिटी बैठकमा पहिलोपटक माधव नेपाल समूहको ठूलो हिस्सा सहभागी भएको हो ।

यसैबिच नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन क्रममा उत्पन्न हुने समस्या समाधान गर्न कार्यदल गठन गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन सिफारिससमेत गर्न सो कार्यदल बनाएको हो । कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथाा लेखराज भट्ट रहेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको ज्ञवालीले बताउनुभयो । माधव नेपालको पार्टीमा गएकाहरुको हकमा कार्यदलले टुंगो लगाउने भएको छ । त्यस्तै केन्द्रीय निकाय र विभागहरुलाई पूर्णता दिने पनि यही कार्यदललाई जिम्मा छ ।

सदस्यता नवीकरणलाई पनि २०७५ जेठ २ गतेको सदस्यतालाई आधार बनाउने र एकीकरणमा आवद्ध भएका र २०७५ जेठ ३ पछि सदस्यता प्रदान गरिएका पार्टी सदस्यहरुको सदस्यता समेत सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?