नयाँ दल दर्तासँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

दार्चुला । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने यसअघि नै सहमति भइसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्ति भएको डेढ महिना पुग्न लाग्दासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन । एमालेबाट अलग भएका माधव नेपालको नयाँ पार्टी दर्ता भएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने उहाँको तयारी थियो।

माधव नेपाल र महन्थ ठाकुरलाई नयाँ दल गठनमा सहज हुने गरी अध्यादेश ल्याएपछि निर्वाचन आयोगले हिजो नेताहरुको सनाखत गरेर दुवै दललाई मान्यता दिएको छ । अब सत्ता गठबन्धनमा कांग्रेसका ६१, माओवादीका ४९, एकीकृत समाजवादीका २३ र जसपाका १९ सहित १ सय ५२ सांसद पुगेका छन् । प्रमुख प्रतिपक्ष एमालेमा अब ९८ सांसद भएका छन् । निर्वाचन आयोगले हिजो नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता दिएको हो ।

गठबन्धनमा कांग्रेस, माओवादी, एमाले समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा छन् । जनमोर्चाले भने सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । गठबन्धनले नेपालको दललाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने तयारी गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले पनि सरकारमा जान सक्ने संकेत दिएको छ । ‘प्रधानमन्त्रीको तर्फबाट केही प्रस्ताव आएका छन् । अहिले पार्टी निर्माणको प्रक्रियामा नै रहेको हुँदा निर्णय दिएका छैनौँ । दल दर्ताको प्रक्रिया बल्ल सकिएको छ । अब पार्टीको बैठक बसेर छलफल गर्छौँ,’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले भन्नुभयो । शुक्रबारसम्म मन्त्रिपरिषद विस्तार गरिसक्ने सरकारको तयारी छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?