एमालेको निर्णय: माधव नेपाल लगायतको नाम पार्टीको अभिलेखबाट हटाइने

दार्चुला । नेकपा एमालेले पार्टी परित्याग गर्नेलाई निष्कासन गर्ने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बिहीवार भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गरी नयाँ दलमा गएका पार्टीका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिने बताउनुभयो । बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको अनुमोदनसमेत गरेको छ ।

पार्टी परित्याग गरेका कसैले भुल महसुस गरे, सच्चिएर आए पार्टी एकतामा फर्कन चाहनेलाई ढोका खुला राखिने उहाँको भनाइ छ । ‘उहाँहरू फर्कनुभयो भने हामी स्वागत गर्दछौँ’, उहाँले भन्नुभयो, ‘आफूलाई सुधार गरेर आउँछन् भने ती साथीलाई पार्टीमा जिम्मेवारीसमेत दिन्छौँ ।’

बैठकले १० बुँदे प्रस्ताव शीघ्र र प्रभावकारीरूपमा पार्टी एकताको मर्मलाई प्रतिविम्ब गर्ने गरी कार्यान्वयन गर्नेसमेत निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले निर्वाचन आयोगले पार्टीबाट हटाएर र अनुपस्थिति रहेका नेताको सनाखत गरेर पार्टी विभाजनमा सहयोगी बनेको निष्कर्ष निकालेको पार्टीका प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

‘सनाखत भनेको त्यो व्यक्तिको हस्ताक्षर हो वा होइन भन्ने हो’, उहाँले भन्नुभयो, ‘तर आयोगमा उपस्थित नभएका व्यक्तिको पनि सनाखत गरी आयोग दल विभाजन गर्न सहयोगी बन्यो ।’

गएको मङ्गलवार एमालेबाट अलग भइ माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो । बैठकले पार्टीले कारबाही गरेर पठाएका सांसदको कारबाहीको सूचना सभामुख अग्निप्रसाद सापकोटाले अझै टाँस नगरेकाले संसदीय अभ्यासअनुसार प्रतिवाद गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले १० बुँदे सहमति जनवर्गीय सङ्गठनमा कार्यान्वयन गर्नका लागि महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको छ ।

यही भदौ ८ गते एमालेको स्थायी कमिटी बैठकले पार्टीको सबै संरचना २०७५ जेठ २ गते अवस्थामा फर्काउने निर्णय गरेको थियो । दश बुँदे कार्यान्वयनमा समस्या आएमा उपाध्यक्ष भीम रावल, उमहासचिवद्वय पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्टसहितको सहजीकरण गर्नका लागि कार्यदल गठन गरेको छ ।

उहाँले बैठक पार्टीको आन्तरिक रूपान्तरणमा रहेकाले पार्टीलाई एकताबद्ध बनाउने बताउनुभयो । एमालेले पार्टीको १० औँ राष्ट्रिय महाविधेशन आउँदो मङ्सिर १० देखि मङ्सिर १३ गते र विधान अधिवेशन आउँदो असोज ४ गतेदेखि असोज ६ गतेसम्म गर्ने निर्णय गरेको छ । एमालेले आउँदो कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भएको छ ।

बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकताका पक्षमा उभिने र विभाजनको विपक्षमा उभिनेलाई स्वागत गर्नुभयो । बैठकमा बोल्ने सबै केन्द्रीय सदस्यले पार्टी एकता सुदृढीकरण गर्न सङ्कल्पसमेत व्यक्त गरेका थिए । बैठकले जनवादी गायक जेबी टुहुरेको निधनप्रति दुःख व्यक्त गरेको छ । एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमतिअनुसार पार्टी एकताबद्ध बनाउने विषयमा छलफल भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?