दार्चुला । दार्चुलासहित सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको आज तेस्रो दिनमा ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन् । ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको लेकम गाउँपालिकाका हरिना जोशीले बताउनुभयो । आज अमुक्ताभरण सप्तमी भएकाले ब्रतालु महिलाहरु एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको उहाँको भनाई छ । गौरादेवीको आराधना ब्रतालु महिलाहरुले फाग मार्फत गर्ने गरेका छन् । गौरादेवीलाई भित्र आएर बसीदिन उनीहरुले फाग मार्फत नै आग्रह गर्ने गरेका छन् ।
गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरुले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ । यसका साथै साँझको समयमा ब्रतालु महिलाहरुले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आजको गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् । गौरापर्वको मुख्य दिन आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरुले राति मिठोमसिनो खाना खाने चलन छ । गौराको मुख्यदिन भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन महिलाहरुले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।
सप्तमीको दिन महिलाहरुले रातभरी गौरादेबीको पुजाआराधाना गरेर जाग्राम बस्ने गरेका छन् । कोरोना भाइरसको महामारीका कारण गत वर्षदेखि गौरापर्वको रौनकतामा कमी आएको छ । यो बर्ष कोरोना कहरका कारण गौराको रौनकता नभएको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय प्रशासनले पनि गौराको समयमा भीडभाड नगर्न आग्रह गरेका छन् । भिडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गरेर मात्रै गौरा मनाउन सार्वजनिक सूचनामार्फत सबैमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो । कोरोनाको तेस्रो लहर भित्रिने सम्भावनालाई मध्यनजर गर्दै गौरापर्वमा भिडभाड नगर्न उहाँले अनुरोध गर्नुभएको छ ।
लेकम गाउँपालिका ५ मैखोलीमा मनाइने गौरापर्व हेर्न तलको लिकंमा क्लिक गर्नुहोस
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया