दार्चुला । जिल्ला निर्वाचन कार्यालय दार्चुलाले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्न इच्छुक स्थानीय जनप्रतिनिधिलाई बोलाएको छ । भदौ ९ गते निर्वाचन आयोगबाट दलको मान्यता पाएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी दुबै दलमा जान चाहने स्थानीय जनप्रतिनिधीहरुलाई दल रोज्ने समय २२ गतेसम्म दिइएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीप सिंह धामीले जानकारी दिनुभयो । जिल्ला निर्वाचन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै इच्छुक जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न भनेको छ । अब एमालेबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न चाहेमा २२ गते ५ बजेभित्र सनाखत गर्नुपर्छ ।
नेकपा एकीकृत (समाजवादी) पार्टीमा जान इच्छुक नेकपा एमालेका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरुका लागि २२ गतेसम्मको समयसीमा तोकिएको छ । सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ । आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउनुपर्ने पनि जनाएको छ ।
प्रदेशसभा सदस्यले सनाखत गर्न जाँदा सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा प्रदेशसभा सचिवालयबाट जारी भएको परिचयपत्र वा प्रमाणितपत्र बोकेर जानुपर्ने बताइएको छ। त्यसैगरी, स्थानीय तहको सदस्यका लागि सक्कल नागरिकता वा मतदाता परिचयपत्र र निर्वाचित भएको प्रमाणपत्र वा सम्बन्धित स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणित पत्र अनिवार्य गरिएको छ। मंगलबार सुदूरपश्चिम प्रदेश सभाका १० जना सदस्यले एमाले छाडेर एकीककृत समाजवादी रोजेका थिए। अन्य तीन जना प्रदेश सांसदले आज सनाखत गर्ने जनाएका छन्। दार्चुलामा जसपाका जनप्रतिनिधि छैनन भने एमालेबाट निर्वाचित सबैजसो जनप्रतिनिधि एमालेमै रहने दाबी गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया