तुइनपछि हेलिकोप्टर, सरकार मौन, सेनाले जनायो आपत्ति

दार्चुला । भारतले दार्चुला सदरमुकाम खलंगाको बस्तीसहित नेपाली सेनाको ब्यारेकमाथि अनधिकृत रूपमा निरन्तर हेलिकोप्टर उडाएको विषयमा सर्वत्र आलोचना भएको छ । यसबारेमा तत्काल भारतसँग कूटनीतिक जवाफ माग्न गृह मन्त्रालय र नेपाली सेनाले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । तर, तुइन प्रकरणमै कूटनीतिक नोट पठाउन अलमलिएको सरकारले हेलिकोप्टर प्रकरणलाई कसरी लिने हो ? स्पष्ट भइसकेको छैन ।

गुरु गोरख गुल्म हेडक्वार्टरमाथि भारतीय हेलिकोप्टर पटक–पटक उडाइएकामा नेपाली सेनाले गम्भीर सरोकार राखेको छ । यस विषयमा सेनाका उच्च अधिकारीहरूले शुक्रबार जंगीअड्डामा छलफल गर्दै रक्षा मन्त्रालयमार्फत परराष्ट्रलाई जानकारी गराउने निष्कर्ष निकालेका छन् । हेलिकोप्टर अनधिकृत रूपमा सीमावारि आएको मात्र होइन, पटक–पटक ब्यारेकमाथि उडेको विषयमा ब्यारेकले हेडक्वार्टरलाई जानकारी गराएको थियो,’ छलफलमा सहभागी एक सैनिक अधिकारीले भन्नुभयो, ‘यो गम्भीर विषय हो, यस्ता गतिविधि रोक्ने विषयमा आधिकारिक संयन्त्रमार्फत आवश्यक पहल गरिनेछ ।’ सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले भने यस विषयमा प्रतिक्रिया दिन चाहानुभएन ।

गृह मन्त्रालयले पनि भारतसँग जवाफ माग्न परराष्ट्र मन्त्रालयलाई शुक्रबार नै पत्र पठाएको छ । गृहसचिव टेकनारायण पाण्डेले परराष्ट्रलाई पत्र पठाउनुअघि गृहमन्त्री बालकृष्ण खाँण र सम्बन्धित सुरक्षा अधिकारीसँग छलफल गर्नुभएको थियो । भारतीय हेलिकोप्टर नेपाली आकाशमा उडेको विषयमा भारत सरकारसँग असन्तुष्टि जनाउन र त्यस विषयमा संलग्नलाई कारबाही गराउने कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्र पठाइएको गृहका एक अधिकारीले बताउनुभयो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले नेपाली आकाश हुँदै अनधिकृत रूपमा हेलिकोप्टर उडाएको विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताउनुभयो। नेपालको स्वीकृति र अनुमतिबेगर भारतीय हेलिकोप्टर नेपाली आकाशमा उडेको भनेर प्रकाशित समाचारमा सरकार गम्भीर र संवेदनशील छ,’ उहाँले भन्नुभयो, ‘सरकार चुप लागेर बसेको छैन, आफ्नो जिम्मेवारी निर्वाह गर्छ ।’

नेपाली आकाशमा निरन्तर भारतीय हेलिकोप्टर
पत्रसँगै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पिथौरागढस्थित भारतीय प्रशासनलाई पठाएको पत्रको बोधार्थ राखिएको छ । भारतीय हेलिकोप्टर खलंगामाथिको नेपाली आकाश हुँदै पटक–पटक ओहोरदोहोर गरेपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले आपत्ति जनाउँदै बिहीबार पिथौरागढस्थित डिस्ट्रिक्ट मेजिस्ट्रेट (जिल्ला अधिकारी) लाई पत्र पठाउनुभएको थियो । भारतीय हेलिकोप्टर केही दिनयता दार्चुलाको नेपाली आकाशमा निरन्तर उडेको विषयमा राजनीतिक दलका नेता–कार्यकर्ता, विभिन्न पेसाकर्मी, बुद्धिजीवी, सर्वसाधारणलगायतले भारतीय प्रवृत्तिको विरोध गरेका छन् । सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थीले शुक्रबार काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहनसमेत गरेका छन् ।

दार्चुलाका प्रजिअ सिद्धराज जोशीले शुक्रबार भने हेलिकोप्टर नेपाली आकाशमा प्रवेश नगरेको जानकारी दिनुभयो । उहाँका अनुसार दुई सातायता भारतीय हेलिकोप्टर नेपालको महाकाली नगरपालिका, लेकम, मालिकार्जुन, दुहुँ र व्यास गाउँपालिकाका क्षेत्रमा पटक–पटक उडाइएको थियो । भारतीय हेलिकोप्टरको अनधिकृत उडान तत्काल रोक्न पहल गर्न भन्दै सेनाको ब्यारेकले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो । यो विषयमा छलफल गर्न जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले भारतीय शैलीको भर्त्सना गर्दै यस्ता गतिविधि रोक्न आवश्यक पहल गर्ने निर्णय गरेको थियो । प्रशासनले यो विषयमा जानकारी दिन गृह मन्त्रालयलाई पत्र लेखेको थियो भने नेपाली आकाशमा अनधिकृत उडान रोक्न भारतीय जिल्ला अधिकारीको कार्यालयलाई पत्र लेखेको थियो । तर भारतीय प्रशासनले शुक्रबार बेलुकासम्म पत्रको जवाफ दिएको छैन । –कान्तिपुरबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?