दार्चुला । बुधबार दर खाएसँगै चार दिने तीज पर्व सुरु भएको छ । हिन्दुको महान् चाड हरितालिका तीजको व्रत बस्न अघिल्लो दिन दर खाने प्रचलन छ । यद्यपि कोरोना महामारी रहेकाले तीजको दिनमा भीडभाड नगर्न चिकित्सकको सुझाव छ । तीजको दिन निराहार व्रत बस्ने भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तìव भएका खानेकुरा खाने गरिन्छ । माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायम रहेका कारण धेरै महिलाले सजगताका साथ तीज मनाउनुपर्ने जनस्वास्थ्य तथा पोषणविद् डा. अरुणा उप्रेतीले बताउनुभयो ।
चाडपर्व मनाउनुपर्छ, रमाइलो पनि गर्नुपर्छ तर कुनै पनि नियम वा स्वास्थ्यको मापदण्डहरूलाई बिर्सनु हँुदैन । डा। उप्रेतीको दर खाँदा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने तìव नखान तथा अखाद्य वस्तु, रङ हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान आग्रह गर्नुहुन्छ । सजावटमा राखिएका मिठाई तथा फलफूलभन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन उहाँको सुझाव छ ।
यता शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले तीज भन्दैमा कोरोना नलाग्ने भन्ने हुँदैन त्यसैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने जोड छ । नेपाल सरकारले पूर्ण रूपमा निषेधाज्ञा खोले पनि कोरोनाको नयाँ भेरियन्टको जोखिम घटेको छैन उहाँले भन्नुभयो, अहिले पनि कोरोना सङ्क्रमितहरू रहेकै छन् भने सबैले पूर्ण रूपमा खोप पनि प्राप्त गरेका छैनन् त्यसैले आफै सजक हुनुपर्छ । सकेसम्म भीडभाड भएको ठाउँमा जानुहँुदैन र बिनामास्क कहीँ कतै नजान पनि उहाँको सुझाव छ ।
विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको ज्योतिषी विशाल गौतमले जानकारी दिनुभयो । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमासमेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।
पछिल्ला वर्षहरूमा तीजका नाममा उच्छृङ्खलता र तडक–भडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा ल्याएको छ । गौतमले दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुने जानकारी दिनुभयो । परापूर्वकालमा देवी पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन निराहार व्रत बसेको र कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरूले पतिको सुस्वास्थ्य, दीर्घायू र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन रहेको छ ।
यसैबीच हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलने त्रासले पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ । काठमाडौँ उपत्यकामा कोरोनाको महामारी फैलँदै गएकाले तीजमा मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
राष्ट्रपतिद्वारा तीजको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ । हरितालिका तीज २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभयो । उहाँले तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेकामा जोड दिनुभएको छ ।
“सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको छ, भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “विवाहपश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरका रूपमा समेत तीज पर्वलाई महिलाहरूले लिएको पाइन्छ ।”
राष्ट्रपतिले तीजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । उहाँले कोभिड–१९ संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि सबैमा आह्वान गर्नुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया