दार्चुला । सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाइ संवादमा आउन आह्वान गर्नुभएको छ । आइतबारको संसद अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संबोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्ने बताउनुभयो । विपक्षी दलका सांसदलाई संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु’ उहाँले भन्नुभयो, हामीले सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु, अपिल गर्छु ।’
सभामुख सापकोटाले १४ सांसदको कारबाहीसम्बन्धी विषय हाल सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यस विषयमा संसद बैठकमा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था रहेको बताउनुभयो । सभामुख सापकोटाले संसदलाई मर्यादित रुपमा सञ्चालनका लागि सहयोग गर्न एमालेलाई आग्रह गर्नुभएको छ । तर एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, यथास्थितिमा संसद चल्न सक्दैन, लगायतका नारा लगाइरहेका छन् ।
यसैबिच नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख, सभामुखको कुर्सीमा बस्न लायक नभएको बताउनुभयो । प्रमुख प्रतिपक्षी दल फुटाउन सभामुखको ‘षड्यन्त्रपूर्ण संलग्नता’ भएकाले संसदको अवरोध कायम राख्ने समेत उहाँले बताउनुभयो । तर पार्टीले तोकेका नाराहरु मात्र लगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न उहाँले सांसदहरुलाई निर्देशन दिनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया