दार्चुला । सभामुख अग्नि सापकोटाले संसद्को अवरोध हटाउन गरेको आग्रहलाई विपक्षी दल एमालेले अस्वीकार गरेको छ। कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ। अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ। आइतबार पनि अवरोध गरेपछि सभामुख सापकोटाले एमाले नेताहरूसँग छलफल गरेका थिए। उहाँले अवरोध हटाउन आग्रह गर्नुभयो । तर, सभामुखले गल्ती स्वीकार गरेर १४ जनालाई कारबाहीको सूचना ननिकालेसम्म अवरोध कायमै राख्ने एमालेले अडान राखेको छ ।
‘१४ जनालाई पदमुक्त गर्न ढिला भएकोमा माफी माग्दै सभामुखज्यूले सूचना प्रकाशित नगरेसम्म संसद् अवरोध कायमै राख्ने जानकारी गरायौँ, प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो, भट्टराईसहित सचेतक शान्ता चौधरी र खगराज अधिकारीले सभामुखसँग छलफल गरेका थिए। हामीले सभामुखसँग अतिरिक्त माया खोजेको होइन, समान व्यवहार गर्नुहोस् भनेर स्मरण गरायौं, भट्टराईले भन्नुभयो, उहाँको व्यवहार सभामुखको जस्तो भएन भन्ने हाम्रो भनाइ हो। सभामुख सापकोटाले आफूले निष्पक्ष र तटस्थ नै भूमिका निर्वाह गरिरहेको जवाफ दिनुभएको थियो । छलफलमा सहभागी कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शीर्ष तहमै संसद् खुलाउनेबारे छलफल गर्न सभामुख सापकोटालाई सुझाब दिनुभएको छ । एमालेका नेताहरूसँग सहमति नजुटेपछि सापकोटाले सोमबार शीर्ष नेताको बैठक बोलाएका छन्। सोमबार दिउँसो २ः३० मा प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
गठबन्धनमा सहमति नजुट्दा तनावमा देउवा
प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । देउवा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र माधव नेपालको तत्कालीन एमालेको समूह र राष्ट्रिय जनमोर्चाको सहयोगमा प्रधानमन्त्री बन्नुभएको थियो । पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका देउवाले दुई महिनासम्म पनि पाँच जना नै मन्त्रीका भरमा सरकारलाई अघि बढाइरहेका छन् । त्यसमा पनि एक जना भने राज्यमन्त्री छन् । प्रधानमन्त्रीसहित गर्दा सरकार ६ सदस्यीय मात्रै छ ।
मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको आलोचना दिनदिनै बढ्दो छ । प्रधानमन्त्री देउवाले सरकारको आलोचना बढेको भन्दै गठबन्धन आबद्ध दलबाट मन्त्रीका लागि नाम पठाउन पटकपटक शीर्ष नेताहरूलाई आग्रहसमेत गर्दै आउनुभएको छ । उहाँले गत बिहीबारबाट भने निरन्तरजसो गठबन्धन बैठकमा मन्त्रीको लिस्ट दिन नेताहरूलाई आग्रह गरिरहेका छन् । प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तारमा एकदमै चिन्तित हुनुहुन्छ, कसरी हुन्छ पहिले मन्त्रिपरिषद् विस्तार गरौं भन्नेतर्फ उहाँको ध्यान छ तर गठबन्धन आबद्ध दलका नेताहरूको एकपछि अर्को वाहनाले प्रधानमन्त्रीलाई सकस परिसकेको छ, प्रधानमन्त्री देउवानिकट एक कांग्रेस नेताले भन्नुभयो । तर, गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूले भने प्रधानमन्त्री देउवालाई मन्त्रीको लिस्ट दिन सकेका छैनन् । उनीहरूले मन्त्रीका आकांक्षी धेरै भएको र संख्यासमेत बढ्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिँदै आइरहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया