पिथौरागढमा नेपाल-भारत संयुक्त सैनिक अभ्यास सुरु

दार्चुला । नेपाली सेनाले कोभिड–१९ का कारण झन्डै डेढ वर्षदेखि रोकिएको संयुक्त सैनिक अभ्यास सुरु गरेको छ। भारतको पिथौरागढमा असोज ४ देखि १७ सम्म हुन लागेको नेपाल–भारत १५ औं ‘सूर्यकिरण’ संयुक्त अभ्याससँगै रोकिएका सैनिक गतिविधिले निरन्तरता पाउन लागेका हुन् ।

सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलले कोभिड–१९ का कारण रोकिएका सैनिक अभ्यास, तालिम, सेमिनार र अन्य गतिविधिलाई अब अघि बढाउन लागेको जानकारी दिनुभयो । उहाँले भारतसँग संयुक्त सैनिक अभ्यासका लागि नेपाली टोली असोज २ गते पिथौरागढ पुगेको जानकारी दिनुभयो । भारतसहित अन्य मुलुकसँग गरिँदै आएको संयुक्त सैनिक अभ्यास सम्बन्धलाई पनि ती देशका सेनासँग गृहकार्य गरेर अघि बढाउने उहाँले बताउनुभयो । चीन र अमेरिकासँग संयुक्त अभ्यासको सम्बन्धमा गृहकार्य भइरहेको छ, अमेरिकासँग छिट्टै मिति तय हुनेछ भने चीनसँग केही समयपछि निर्णय गर्ने योजना छ, उहाँले भन्नुभयो । नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास गर्दै आएको छ ।

सैनिक प्रवक्ता पौडेलका अनुसार भारतको उत्तराखण्डस्थित पिथौरागढमा हुन लागेको १५ औं सूर्यकिरण संस्करणमा दुवै मुलुकका तर्फबाट बटालियन स्तरको संयुक्त प्रशिक्षण हुनेछन् । मुलुकअनुसार बटालियनको संख्या फरक हुन्छ । मुलुकअनुसार सेनामा ७ सय ५० देखि ८ सय ५० जनासम्मका बटालियन हुन्छन् । ‘अहिले गरेको चाहिँ बटालियन स्तरको संयुक्त प्रशिक्षण हो, नेपालबाट ३०० जनाको पल्टन अभ्यासमा गएको छ, जसमा तीनवटा कम्पनी छन्,’ उहाँले भन्नुभयो । नेपाली सेना र भारतीय सेना दुवै पक्षबाट अभ्यासमा महासेनानीले नेतृत्व गरेका छन । भारतीय सेना र नेपाली सेनाबीच प्रतिविद्रोह र जंगल कला अभ्यास हुने छ । भारतबाट ३ सय ५० सैनिकले सहभागिता जनाएका छन् ।

एक वर्षमा नेपाल र भारतमा एक–एक पटक अभ्यास हुँदै आएकोमा कोभिड–१९ संक्रमण सुरु भएपछि रोकिएको थियो । नेपालले उत्तरी छिमेकी चीनको जनमुक्ति सेनासँग सन् २०१७ देखि नेपाल–चीन ‘सगरमाथा मैत्रीपूर्ण’ संयुक्त सैनिक अभ्यास गर्न थालेको हो, जसको दोस्रो संस्करण सन् २०१८ मा चीनको छेन्दुमा भए पनि तेस्रो संस्करण कोरोना संक्रमणका कारण रोकिएको छ । चीनसँगको संयुक्त अभ्यासका लागि गृहकार्य भइरहेका प्रवक्ता पौडेलले बताउनुभयो। चीनसँग नेपालले प्रतिआतंकवादको सामना गर्ने प्रशिक्षण गर्दै आइरहेको छ ।

अमेरिकी सेनाको विशेष फौजसँग माओवादी द्वन्द्वकालदेखि नै नेपाली सेनाले सहकार्य गरे पनि संयुक्त सैनिक अभ्यासका रूपमा सन् २०१५ देखि ‘ब्यालेन्स नेल’ र ‘टेक नेल’ लाई अघि बढाएको हो । उक्त अभ्यास पनि कोरोनाकै कारण रोकिएको छ । अमेरिकासँग हुने विपद् व्यवस्थापनसम्बन्धी संयुक्त सैनिक अभ्यासको तयारी भने अन्तिम चरणमा पुगेको छ । बेलायती सेनाले वेल्समा गर्ने क्याम्ब्रिएन पेट्रोल नामक संयुक्त सैनिक अभ्यासमा नेपाली सैनिकले सहभागिता जनाउँदै आएका छन् कोभिड–१९ संक्रमणका कारण ‘रेड लिस्ट’ मा परेको उक्त अभ्यासको सम्बन्धमा गृहकार्य अघि नबढेको सैनिक प्रवक्ता पौडेलले बताउनुभयो । अन्य मुलुकले नेपालमै आएर अभ्यास गर्ने गरे पनि बेलायतले भने नेपाली सैनिकलाई उतै बोलाएर संयुक्त अभ्यास गर्दै आइरहेको छ । सेनाले सैनिक सम्पर्क वृद्धि गर्ने तथा सीप र कलाहरू आदानप्रदान गर्ने उद्देश्यले दशकयता मुख्यगरी भारत, अमेरिका, चीन र बेलायतसँग अभ्यास गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?