दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ६ का शेरी, जैथाला टोलमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान गरि सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणको मार्मा फ्युज सेवा टिम र शेरी जैथालाका स्थानीयहरुको पहलमा विद्युत सेवा सञ्चालनमा आएको अपि पथपर्दशक माबि शेरीका शिक्षक वीरेन्द्र महराले जानकारी दिनुभयो ।
शेरी र जैथालाका ४० घरधुरीमा बिद्युतिकरण भएर बत्ती बाल्न सुरु गरिएको छ । मार्मा गाउँपालिका वडा नम्बर ६ अन्तर्गतका दर्जनौ टोलमा बिद्युतिकरण नहुदा स्थानीयहरु अन्धकारमा बस्न बाध्य भएका छन । शेरी जैथाला टोलमा बिजुली बलेसंगै स्थानीयबासी खुसी भएको महराले बताउनुभयो।
६० प्रतिषत घरधुरी विद्युतबाट बञ्चित
चमेलिया लगायत साना ठूला जलविद्युत उत्पादन गरेको दार्चुलामा अहिलेसम्म ६० प्रतिषत घरधुरीमा विद्युतिकरण नै हुन सकेको छैन् । विद्युत वितरण केन्द्र दार्चुलाका अनुसार ३९ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ । केहि घरधुरीमा लघु जलविद्युत र सोलारहरु भएपनि अधिकासं घरधुरी अन्धकारमा छन् । २०६८ सालको जनगणनाअनुसार दार्चुलाका २४ हजार ६१८ घरधुरीमध्ये करिब १० हजार घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेको छ ।
जिल्लाका दुई नगरपालिका तथा पाँच वटा गाउँपालिकाका विभिन्न स्थानमा विद्युतीकरण गरिएको र चालू आर्थिक वर्षमा जिल्लाका नौ वटै स्थानीय तहमा विद्युतीकरण गरिसक्ने नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ। दुहुँ गाउँपालिकामा गत भदौ १३ गते आएको बाढी पहिरोका कारण वडा नम्बर १ बाहेक सबै वडामा विद्युत अवरुद्ध भएर जनता अन्धकारमा बस्न बाध्य छन् । नौगाड र अपिहिमाल गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन जोड्न बाँकी छ भने लाइन जोडिएका सबै ठाउँमा विद्युत राम्रोसँग पुग्न नसकेको बताइएको छ। सन् २०२२ सम्ममा नेपालको सम्पूर्ण भूभागमा विद्युत पु¥याउने लक्ष्य लिएको नेपाल सरकारले १ वर्षभित्र दार्चुलामा पनि विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको छ। विद्युत कार्यालय र ठेकेदार जिम्मेवार नबन्दा दार्चुलामा विद्युतिकरणमा ढिलाइ भइरहेको छ ।
सरोकारवालाहरुको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण विद्युत विस्तारमा लक्ष्यअनुसार प्रगति हुन सकेको छैन भने भएको ठाउँमा समेत नियमित विद्युत आपुर्ती भइरहेको छैन् । बेलाबेला विद्युत सेवा अवरुद्ध हुने गरेको स्थानीयको गुनासो छ । तर स्थानीयहरुले समेत सरोकारवालाहरुमाथि प्रयाप्त दबाब सिर्जना गर्न नसक्दा आधाभन्दा बढी जनसंख्या अन्धकारमा बस्नुपरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया