दार्चुला । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै एक साता पछि सारिएको छ । यही असोज ८, ९ र १० गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन १४, १५ र १६ गते काठमाडौंमा गर्ने निर्णय भएको हो ।
केही प्रदेशको सम्मेलन बाँकी रहेको र पूर्वतयारी पनि नसकिएकाले राष्ट्रिय सम्मेलन १४ गतेबाट सुरु गर्ने निर्णय गरिएको अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष एवम् सम्मेलन प्रचार प्रसार उपसमिति संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । राष्ट्रिय सम्मेलनको तयारीबारे अखिल क्रान्तिकारीका नेताहरूको टोलीले मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल पनि गरेको छ । छलफलको क्रममा नेताहरुले हालसम्मको तयारीबारे प्रचण्डलाई जानकारी गराएका थिए । सो क्रममा प्रचण्डले सर्वसहमतिमा राष्ट्रिय सम्मेलनबाटै नयाँ नेतृत्व चुन्न सुझाव दिनुभएको छ । छलफलमा माओवादी केन्द्रका नेता एवम् विद्यार्थी फाँट हेर्ने फ्याक्सन इञ्चार्ज हितमान शाक्य समेत सहभागी थिए ।
२१ औं राष्ट्रिय सम्मेलनमा भने क्रान्तिकारीले निर्वाचनमार्फत् नयाँ नेतृत्व चयन गरेको थियो । त्यसयता संगठन र पार्टीमा गुटबन्दी बढेको भन्दै प्रचण्डले सहमतिबाटै नेतृत्व चुन्नुपर्नेमा जोड दिंदै आएका छन् । अखिल क्रान्तिकारीको आगामी अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत र उपाध्यक्ष पञ्चा सिंह प्रमुख दाबेदार छन् ।
अखिल क्रान्तिकारीका दार्चुलासहित ५५ जिल्लामा सम्मेलनहरु सकिइसकेको छ । काठमाडौं लगायतका केही जिल्लामा सम्मेलन हुन बाँकी रहेको अखिल क्रान्तिकारीका प्रवक्ता जीपी मैनालीले जानकारी दिए । अखिल क्रान्तिकारीको भौगोलिक (सात वटा प्रदेश) र गैरभौगोलिक (उपत्यका विशेष प्रदेश) गरी ८ प्रदेश संरचना छन् । प्रदेशहरूको सम्मेलन भने सकिएको प्रवक्ता मैनालीले बताउनुभयो ।
यसपालि पालिकास्तरमा पनि अखिल क्रान्तिकारीको सम्मेलन भएका छन् । यसअघि पालिकाहरुमा अखिल क्रान्तिकारीको संरचना बनेको थिएन ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया