दार्चुला । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा र मन्त्रीहरुलाई भेटेर प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडू नेतृत्वको टोलीले दुहुँका बाढी पहिरो प्रभावित बस्तिलाई स्थानान्तरणका लागी आग्रह गरेका छन् । प्रतिनिधिसभा सदस्य बडू, सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशी, जिल्ला समन्वय समिति प्रमुख करबिरबहादुर कार्की र दुहुँ गाउँपालिकाका जनप्रतिनिधीहरुको टोलीले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीलाई भेटेर बाढी पहिरोले क्षतविक्षत पारेको वडा नम्बर २ र ५ का विभिन्न बस्तिहरु स्थानान्तरणका लागी आवश्यक पहल गरिदिन अनुरोध गरेका हुन् ।
गाउँपालिकाको टोलीले सरकारसँग घरबार बिहिनलाई बस्ती स्थानान्तरण, घर जग्गाको विकल्प भएका बाढी पिडितलाई घर निर्माणका साथै मर्मतयोग्य घरहरुलाई मर्मत सम्भार गर्नका लागि सहयोग गर्न अनुरोध गरिएको छ । दुहुँ गाउँपालिकालाई पुर्वाधार पुर्ननिर्माणका लागी विशेष गाउँपालिका घोषणा गरि भौतिक संरचना निर्माण तथा पुननिर्माणको काम गरिदिन सरकारसँग आग्रह गरेको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनुभयो । टोलीलाई गृहमन्त्री बालकृष्ण खाणले विज्ञको टोली गाउँपालिकामा अध्ययनका लागी पठाउने र अध्ययन प्रतिवेदन रिपोर्ट पस्चात बस्ति स्थानान्तरणका लागी पहल गरिने प्रतिवद्धता जनाएको बताइएको छ । गृहमन्त्रालयले अध्ययनका लागी विपद् प्राधिकरणलाई निर्देशन दिएको छ ।
टोलीले सुदूरपश्चिम प्रदेश सरकार र नेपाल सरकारसंग राहत, पुननिर्माण र पुनस्थापना र भौगर्भीक अद्ययनका लागि अनुरोध गरेको सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले बताउनुभयो । गत भदौ १३ गते दुहु गाउँपालिकाका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परेर पाँच जनाको ज्यान गएको थियो । बाढी पहिरोले ६४ परिवार पूर्णरुपमा विस्थापित भएका, ९५ घर उच्च जोखिममा र ११५ घरमा आंशिक क्षति भएको दुहुँ गाउँपालिकाको तथ्यांकमा उल्लेख छ । यस्तै गरेर पाँच माइक्रो हाइड्रो, छ झोलुंगे पुल, एउटा मोटरेवल पुल पूर्णरुपमा क्षति भएको अध्यक्ष कार्कीले बताउनुभयो । यस्तै गरेर तीन किलोमिटर सडक, दर्जन बढी खानेपानी आयोजना, कुलो, सामुदायिक र विद्यालय भवनमा क्षति पुगेको छ ।

यसैबिच गत साता जिल्ला विपद् व्यवस्थापन समितिले दुहुँ गाउँपालिकाको बाढी प्रभावित वस्तीलाई स्थानान्तरणको लागि पहल गर्ने निर्णय गरेको छ । दुहुँ गाउँपालिका वडा नम्बर २ को नरोली, अफरे, बथ्थोली, अङिरखाड, वडा नम्बर ५ को सिमार, नागचौपाती, मखमाली, दमाउढुङ्गा, चुच्चौगाडाका वस्ती स्थानन्तरण गर्नुपर्ने भएको छ । बैठकले बाढी प्रभावित भएर बस्नै नसकिने दुहुँका वस्तीलाई स्थानान्तरणको लागि गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया