दार्चुला । सुदूरपश्चिम प्रदेश सभामा दुई विधेयक टेबुल भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा दुई वटा संशोधन विधेयक टेबुल गरिएको हो ।
भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गर्नुभयो । यस्तै, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउँदले सुदूरपश्चिम प्रदेश खेलकुद ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गर्नुभयो ।
प्रदेश सभामा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ को बजेट खर्चबारे महालेखा परीक्षकले तयार पारेको वार्षिक प्रतिवेदन २०७८ पनि पेस गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले सोमबार प्रदेश सभामा सो प्रतिवेदन पेस गरे । सो प्रतिवेदनलाई अध्ययन छलफलका लागि संसद्को सार्वजनिक लेखा समितिमा पठाइने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो ।
प्रदेश सभा बैठकमा सामाजिक विकास समितिले तयार पारेको प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । सुदूरपश्चिम पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल भइ तयार पारिएको प्रतिवेदन समितिका सभापति कुन्ती जोशीले प्रस्तुत गर्नुभएको हो ।
प्रदेश सभामा ढ्याढ्यापे समय माग गरेर प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरा र डिल्लीराज पन्तले समसामयिक विषयमा बोल्नुभएको थियो । प्रदेश सभाको अर्को बैठक मङ्गलबार बोलाइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया